सुर्खेतका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ।
जिल्लाका ९ वटै स्थानीय तहका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क खोप सञ्चालन अभियान सुरु गरिएको हो।
यो अभियान फागुन १ आजदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ।
सुर्खेत जिल्लाभर ६ हजारभन्दा बढी किशोरीलाई यो खोप लगाउने लक्ष्य राखिएको छ। विशेषगरी कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने किशोरीहरूलाई प्राथमिकतामा राखिएको छ।
वीरेन्द्रनगर नगरपालिकामा मात्रै ५० वटा खोप केन्द्र तोकिएको छ। ती केन्द्रमार्फत २ हजार १७० जना किशोरीलाई खोप सेवा प्रदान गर्नका लागि विद्यालयहरुमा बिहानैदेखि स्वास्थ्यकर्मीहरु खटिसकेका नगर स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्रदेव गिरीले जानकारी दिए।
अधिकांश खोप केन्द्र विद्यालयमा सञ्चालन गरिने भएकाले विद्यार्थीहरूलाई सहज पहुँच पुग्ने विश्वास लिइएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार एचपीभी खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।
२०८१ सालको खोप सल्लाहकार समितिको सिफारिसअनुसार नेपाल सरकारले यो खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको छ।
पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्युदर घटाउने उद्देश्यले यो अभियान देशव्यापी रूपमा सञ्चालन गरिएको हो। विशेषज्ञहरूले खोपसँगै नियमित स्वास्थ्य परीक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताएका छन्।
Shares

प्रतिक्रिया