कर्णाली


सबै दललाई संयुक्त चुनावी सभामा भाग लिन नेकपा दैलेखका उम्मेदवार शाहीको प्रस्ताव

सबै दललाई संयुक्त चुनावी सभामा भाग लिन नेकपा दैलेखका उम्मेदवार शाहीको प्रस्ताव

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १८:१२, दैलेख

प्रतिनिधि सभा निर्वाचन (फाल्गुन–२१) नजिकिँदै गर्दा दैलेख जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा संयुक्त चुनावी जनमसभाका लागि एउटै मञ्चमा आउने प्रस्ताव अघि सारिएको छ। 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार योगेन्द्र शाहीले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर ‘संयुक्त चुनावी जनसभा’ आयोजना गर्न सार्वजनिक आह्वान गरेका हुन् । 

छुट्टाछुट्टै, खर्चिलो र झन्झटिला चुनावी सभा गर्नुको सट्टा ११ वटै दल र स्वतन्त्र उम्मेदवारले संयुक्त रूपमा जनसम्वोधन गर्नुपर्ने प्रस्ताव शाहीले अघि सारेका हुन् । उनका अनुसार यस्तो कार्यक्रम ५ वटै नगरपालिका र गाउँपालिकामा सञ्चालन गर्न सकिनेछ ।

प्रस्तावअनुसार स्वतन्त्र पत्रकार वा व्यक्तिलाई सहजकर्ताको भूमिका दिइनेछ भने प्रत्येक उम्मेदवारले अधिकतम १५–२० मिनेटको समयसीमाभित्र आफ्ना नीति, योजना र प्रतिबद्धता राख्ने व्यवस्था गरिनेछ । समान अवसर र न्यूनतम मापदण्डमा आधारित कार्यक्रमले मतदातालाई प्रत्यक्ष रूपमा सबै उम्मेदवारको धारणा सुन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

शाहीले संयुक्त जनसभाको खर्च पनि सबै दल र स्वतन्त्र उम्मेदवारले बराबरी रूपमा व्यहोर्ने सुझाव दिएका छन् । यसबाट चुनावी खर्च घट्ने, अस्वस्थ प्रतिस्पर्धा कम हुने र स्वस्थ लोकतान्त्रिक अभ्यासको विकास हुने उनको दाबी छ ।

ज्वाला–पञ्चकोशी क्षेत्रबाट सुरु हुने यस पहलले नयाँ राजनीतिक संस्कार र सभ्य समाज निर्माणतर्फ देशव्यापी नयाँ सन्देश दिने अपेक्षा गरिएको छ । यदि सबै पक्ष सहमत भएमा दैलेख–२ आगामी निर्वाचनमा सहकार्य र पारदर्शा प्रतिस्पर्धाको नमुना क्षेत्र बन्न सक्ने शाहीको विश्वास छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad