कर्णाली


पुराना दल छोडेर पूर्वसहकर्मीसँगै प्रतिस्पर्धा गर्दै रास्वपाका ‘नयाँ’ उम्मेदवार

पुराना दल छोडेर पूर्वसहकर्मीसँगै प्रतिस्पर्धा गर्दै रास्वपाका ‘नयाँ’ उम्मेदवार

दिनेश बुढा
फागुन ६, २०८२ बुधबार १८:२२, सुर्खेत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ।  

‘जान्नेलाई छान्ने’ नारा लगाउँदै आएको रास्वपाले पुराना दलहरूले देश विकास गर्न नसेकेको भन्दै नयाँलाई अवसर दिनुपर्ने बताउँदै आएको छ।

तर, कर्णालीका अधिकांश रास्वपा उम्मेदवार भने एमाले, कांग्रेस र माओवादीकै पृष्ठभूमीका नेताहरू छन्। कतिपय उम्मेदवारहरू कोही पार्टीको विभिन्न जिम्मेवारी तथा राजनीतिक नयुक्ति लिइसकेका नेताहरू छन्। 

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ र २ का रास्वपा उम्मेदवार दुवैजना नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका नेताहरू हुन्। सुर्खेत– १ मा टेकबहादुर सिंह र २ बाट रमेशकुमार सापकोटा उम्मेदवार छन्। 

सुर्खेत–१ बाट उम्मेदवार बनेका सिंह नेपाली कांग्रेसको जिल्ला उपसभापति भएर काम गरिसकेका व्यक्ति हुन्। उनी २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार थिए। तर, तत्कालीन एमाले र माओवादीको गठवन्धनका उम्मेदवार ठम्बर विष्टसँग झिनो मतान्तरले पराजित भए। विष्टले १५ हजार ३५२ मत प्राप्त गर्दा सिंहले १५ हजार १३२ मत प्राप्त गरेका थिए। 

सिंह कांग्रेसमा हुँदा धेरै अवसर लिने मध्येका एक नेता भएको कांग्रेसीहरू बताउँछन्।

यस्तै, सुर्खेत–२ बाट उम्मेदवार बनेका  सापकोटा पनि पूर्वकांग्रेस पृष्ठभूमिका हुन्। उनी कांग्रेस वीरेन्द्रनगर नगर समितिको सचिव थिए।

सापकोटा नाम चलेका यातायात व्यवसायी हुन्। लामो समय कार्णालीको यातायात क्षेत्रमा एकछत्र राज चलाएका सापकोटा कांग्रेसभित्रको अन्तर संघर्षका कारण रास्वपामा लागेका थिए। उनी अहिले रास्वपा सुर्खेत जिल्ला सभापति छन्। सापकोटा एमालेबाट राजनीति सुरु गरेर कांग्रेस हुँदै रास्वपामा पुगेका हुन्।

यस्तै, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपाबाट उम्मेदवार बनेका नेताहरू पनि एमाले तथा माओवादीको सरकार हुँदा विभिन्न पदमा बसेर लाभ लिएका छन्। 

दैलेख– १ मा एमाले पृष्ठभूमीका नन्दकिशोर बस्नेत र २ मा पूर्वमाओवादीका बखतबहादुर शाही उम्मेदवार छन्। 

पार्टी केन्द्रको निर्देशन बमोजिम एमाले दैलेखले क्षेत्र नम्बर १ बाट बस्नेतसहित रविन्द्रराज शर्मा, रत्नबहादुर खड्का, तेजबहादुर चन्द र लिला विसीको नाम सिफारि भएको थियो। तर, सिफारिस भएकाहरू मध्ये रविन्द्रराज शर्माले टिकट पाउने निश्चित भएपछि बस्नेत रुष्ट थिए।

बस्नेतको असन्तुष्टिका बाबजुद शर्माले टिकट पाए। शर्मालाई टिकट दिएको झोंकमा बस्नेतले एमाले परित्याग गरि रास्वपा प्रवेश गरेका थिए।

टिकट नपाएको झोंकमा रास्वपा प्रवेश गरेर एमालेका शर्मा विरुद्ध उम्मेदवार बनेका बस्नेत एमालेबाट लामो समय अवसर लिएका व्यक्ति हुन्। सुरक्षा निकायबाट सेवा निवृत्तपछि व्यवसायीको परिचय बनाएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा दुई कार्यकाल अध्यक्ष बन्ने मौका पाएका थिए। 

यति मात्रै होइन एमालेको जोडबलमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकसमेत बनेका थिए। नेकपा एमाले दैलेखको सातौं अधिवेशनमा उपाध्यक्ष र आठौँ अधिवेशनमा अध्यक्ष पदका दाबेदार रहेका उनी एक कार्यकाल एमाले कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी बहन गरेका थिए। 

दैलेख–२ बाट रास्वपा उम्मेदवार नेकपा माओवादी केन्द्र निकट हुन्। माओवादीको नजिक भएकै कारण उनी विद्युत् उत्पादन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भई काम गरेका थिए। 

यस्तै, कर्णालीका अन्य जिल्लाका अधिकांश उम्मेदवार पनि कांग्रेस, एमाले र माओवादी पृष्ठभूमिका छन्। जो पार्टीमा रहँदा लामो समय अवसर लिएका छन्। उनीहरू रास्वपाबाट उम्मेदवार बनेपछि आफूलाई ‘नयाँ’ बताएर पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गरिरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad