राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। जनकपुरधाममा आयोजित कांग्रेसको ‘प्रतिज्ञा सभा’ मा महामन्त्री गगन थापाले उनलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरे।
रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी शर्माले नयाँ भनिएको शक्तिले जनताको अपेक्षामा कुठाराघात गरेको आरोप लगाइन्। पार्टी प्रवेशपछि बोल्दै उनले वैकल्पिक राजनीतिको नारा दिएको रास्वपा अहिले अवसरवादी, अपराधी र सामन्तीहरूको अखडा बनेको दाबी गरिन्।
‘रास्वपाले अबको पालो युवा र नयाँको भनेर नारा त दियो, तर व्यवहारमा दागी र ठेकेदारहरूलाई काँध थाप्ने काम मात्रै गर्यो,’ शर्माले भनिन्, ‘समाजले तिरस्कार गरेका र थुप्रै मुद्दा लागेका पात्रहरूलाई छान्ने प्रवृत्ति रास्वपामा हाबी भयो।’
उनले लोकतन्त्रको रक्षा, संघीयताको सुदृढीकरण र मधेशको अधिकार स्थापित गर्नका लागि आफूले पुरानो र ऐतिहासिक पार्टी कांग्रेस रोजेको प्रष्ट पारिन्। मधेशलाई नयाँ दिशा निर्देश गर्न कांग्रेसको रूपान्तरणकारी अभियानमा जोडिनुको विकल्प नदेखेर आफू फर्किएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया