सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागुऔषध (ब्राउनसुगर), सुनचाँदीका गहना र स्रोत नखुलेको ५ लाखभन्दा बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार राति वीरेन्द्रनगर नगरपालिका-३ स्थित एक घरमा खानतलासी गर्दा उक्त सामग्री बरामद गरेको हो।
यस क्रममा प्रहरीले स्थानीय ४८ वर्षीय चेतबहादुर सुनार र वडा नं. १४ का ३० वर्षीय प्रशान्त सुनारलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरूका साथबाट ५७० मिलिग्राम (१०१ पुरिया) लागुऔषधसहित स्रोत नखुलेको ५ लाख १५ हजार ५५० रुपैयाँ तथा गरगहनासमेत बरामद गरिएको हो।
सुनचाँदीका सिक्री, औँठी, चन्द्रमा, हार, काँटा, पाउजु, माला, टप, नथिया, बुलाकी, फुली, बाला पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाबारे अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया