कर्णाली


जुम्लामा त्रिपक्षीय भिडन्त : सत्ता गठबन्धन र एमालेलाई राप्रपाका ज्ञानबहादुरको चुनौती

के थियो ०७४ को नतिजा?
जुम्लामा त्रिपक्षीय भिडन्त : सत्ता गठबन्धन र एमालेलाई राप्रपाका ज्ञानबहादुरको चुनौती

फाइल तस्बिर


दिनेश बुढा
असोज ३०, २०७९ आइतबार ८:२६, सुर्खेत

जुम्लामा यस पटकको निर्वाचन रोचक बन्ने भएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता फकाउन उम्मेदवारहरू निर्वाचन क्षेत्रमा आफ्ना गतिविधि बाक्लो बनाउन थालिसकेका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णाली प्रदेशको जुम्लाको चुनाव पनि चासोको केन्द्रमा पर्ने भएको छ। 

एमाले तथा गठबन्धनका उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) चुनौतीका रूपमा खडा भएका छन्। शाही निर्वाचनको मिति तय भएपछि काठमाडौँबाट गृहजिल्ला जुम्ला फर्किएर सक्रिय भएका छन्। गत २४ भदौ बाट चुनावी प्रचार–प्रसार सुरुवात गरेका शाही माओवादी र नेपाली कांग्रेसको बहुमत भएको ठाउँमा भिड्नपर्ने चुनौतीमा छन्। 

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको जुम्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तीन दलबीच गठबन्धन भएको छ। तीनदल मिलेर बनेको वाम लोकतान्त्रि गठबन्धनलाई चुनौती दिँदै दिने भएका छन्।

यसअघि नेपालखबरसँग कुरा गर्दै राप्रपाका प्रवक्ता समेत रहेका शाहीले जुम्लामा ४ दलका नेता–कार्यकर्ता आफ्नो प्रचारमा सँगै रहेका दाबी गरेका थिए। 

सामाजिक अभियन्ताबाट राजनीतिमा होमिएका शाही जुम्लामा आफ्नो लोकप्रियता रहेको बताउँदै गठबन्धन गरेका ठूला दलहरुसँग टक्कर दिन एक्लै मैदानमा उत्रिएको बताउँछन्। 

यस्तै, जुम्लामा कांग्रेस, माओवादी र समाजवादीबीच भएको गठबन्धनमा माओवादीबाट गोमा गौतम (कुँवर)ले टिकट पाएकी छन्। उनी गठबन्धनको तर्फबाट टिकट पाउने कर्णालीका एक मात्रै महिला उम्मेदवार हुन्।

त्यस्तै, नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगी छन्। उनी पूर्व तिला गाउँपालिका अध्यक्ष समेत बनिसकेका छन्। पार्टी विभाजन पश्चात् जुम्लामा एमालेको उपस्थिति तुलनात्मक रुपमा कमजोर देखिए पनि स्थानीय तहको निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेको छ।

विद्यार्थी कालदेखि राजनीतिमा हानिएका योगी युवा तथा राजनीतिक कार्यकर्ताको रुपमा परिचित समेत छन्। योगी २०५३ सालदेखि २०५५ सम्म जुम्ला बहुमुखी क्याम्पसको सचिव भएका थिए। २०५६ देखि २०५९ सम्म सानोठिमी क्याम्पस भक्तपुरको सचिव भएका उनी २०५९ देखि २०६२ सम्म जुम्ला बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए। त्यसपछि उनको राजनीतिक यात्रा दिन–प्रतिदिन अघि बढ्दै गएको हो। २०६२/०६३ को जनआन्दोलनताका उनी चर्चित वक्ता समेत हुन्। उनले यस पटकको निर्वाचनमा मुख्यतः गठबन्धनसँग प्रतिस्पर्धा गर्ने छन्।

यस्तै, गठबन्धनबाट उम्मेदवार कुँवर ०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित हुँदै पशुपन्छी राज्यमन्त्री बनेकी सकेकी छन्। उनी पनि जनताकाबीच चिरपरिचित नेतृमा पर्छिन्। गोमाको राजनीतिक यात्रा ०५४ सालमा स्कुल पढ्दा–पढ्दै माओवादी जनयुद्धबाट सुरूवात भएको थियो। 

गोमा प्रत्यक्षतर्फबाट चुनावमा पहिलो पटक होमिएकी छन्। पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै गर्दा खुसीसँगै चुनौतीको रुपमा लिएको उनको भनाई रहेको छ। उनले भनिन्, ‘निर्वाचनलाई मैले एक महत्वपूर्ण परीक्षाका रुपमा लिएकी छु। हेर्यौं बाँकी त जनाको हातमा छ।’ 

तर, एमाले तथा गठबन्धनका उम्मेदवारलाई टक्कर दिने तयारीका साथ राप्रपाका प्रवक्ता शाहीले आफ्नो माहोल तताएका छन्। उनले नेपालखरसँगको कुराकानीमा भने, ‘जुम्लाले राष्ट्रिय नेतृत्व पाउनुपर्छ भनेर म प्रचार–प्रसारमा होमिएको हुँ। जुम्ला अहिले पार्टी पद्धति भन्दा पनि व्यक्तिको रोजाइमा छ। अहिले देशका जनताको मुखमुखमा पार्टी हैन्, व्यक्ति रोजौँ र, व्यक्ति जिताऊँ भन्ने अभियान छ। त्यो अभियान अन्तर्गत हामी पनि हिँडेका छौँ र सम्भवतः म ३२ हजार नभए ३१ हजारभन्दा बढी भोटका साथ विजयी हुन्छु।’

जुम्लामा प्रतिनिधि सभाका लागि विभिन्न दलबाट पाँच जना उम्मेदवार बनेका छन्। जसमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीप्रसाद काफ्ले, स्वतन्त्रबाट डा. कलबहादुर रोकाया उम्मेदवार बनेका छन्। 

२०७४ सालको निर्वाचनमा जुम्लाबाट प्रतिनिधि सभामा माओवादीका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मतसहित निर्वाचित भएका थिए। उनि एमाले माओवादीबाट उम्मेदवार बनेका थिए। महतले कांग्रेसका देबेन्द्रबहादुर शाहीलाई पराजित गरेका थिए। शाहीले १४ हजार १४९ मत प्राप्त गरेका थिए। नेमकिपाले २ हजार ७१८ मत प्राप्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .