कर्णाली


कर्णाली आउँदै गगन थापा, २८ र २९ गते कांग्रेसको प्रदेशस्तरीय भेला

कर्णाली आउँदै गगन थापा, २८ र २९ गते कांग्रेसको प्रदेशस्तरीय भेला

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १३:२०, सुर्खेत

नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार र मंगलबार कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ।

विशेष महाधिवेशनपछि कांग्रेसले यही वैशाख २८ र २९ गते कर्णालीमा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो।

भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायत शीर्ष नेता कर्णाली आउने कार्यक्रम छ। 

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरिने भएको हो।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने कांग्रेसले जनाएको छ। 

भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, पार्टीतर्फका प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुख तथा गाउँपालिका अध्यक्ष-उपाध्यक्षको सहभागिता रहनेछ।

प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेले भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने जानकारी दिए।

भेलामा प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुने उनकाे भनाइ छ।

बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि विशेष जोड दिइनेछ।

त्यस्तै सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने कांग्रेसले जनाएको छ।

नागरिकमैत्री बजेट निर्माण, समावेशी विकास र पार्टी तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वयका विषयमा समेत गहन छलफल हुने आयोजकले जनाएको छ।

दुई दिन छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने तयारी छ।

कांग्रेसले भेलालाई कर्णाली केन्द्रित राजनीतिक, संगठनात्मक तथा विकास रणनीति निर्माणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad