ad ad

कर्णाली


१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि काठमाडौँबाट टोली कर्णाली आउने

खेलकुद मन्त्री श्रेष्ठ र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सञ्ज्यालबीच छलफल
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि काठमाडौँबाट टोली कर्णाली आउने

खेलकुद मन्त्री श्रेष्ठ र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सञ्ज्यालबीच बिहीबार भएको छलफल


दिनेश बुढा
जेठ ४, २०८१ शुक्रबार १५:५, सुर्खेत

आगामी मंसिरमा कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि युवा तथा खेलकुद मन्त्रालयले केही दिनभित्र टोली खटाउने भएको छ। 

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्याललाई स्थलगत अध्ययनका लागि मन्त्रालयका तर्फबाट टोली कर्णालीमा खटाइने जानकारी दिएका हुन्। 

मन्त्री श्रेष्ठले सदस्य-सचिव सञ्ज्याललाई बिहीबार मन्त्रालयमै झिकाई १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भइरहेका तयारीबारे जानकारी लिएका थिए। 

सो क्रममा मन्त्री श्रेष्ठले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नुपर्ने उल्लेख गर्दै अबको केही दिनमा नै मन्त्रालयका तर्फबाट परिणाम आउने गरी कामको थालनी गर्ने प्रतिबद्धता जनाएका हुन्। 

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने भन्दा पनि यसले दिने सन्देशका बारेमा सबैले सोच्नुपर्नेछ’, उनले भने, ‘यो प्रतियोगिता आयोजनापश्चात् कर्णालीले कुनै न कुनै क्षेत्रमा परिवर्तन भएको महसुस् गरोस्। त्यो खेल क्षेत्रमा होस् वा आर्थिक क्षेत्रमा होस् वा पर्यटकीय क्षेत्रमा होस् कर्णालीले केही नयाँ पाउने गरी लाग्नुपर्छ।’

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतकाे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना गर्ने तयारी छ। 

खेलकुद मन्त्रीसँगको छलफलमा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सञ्ज्यालले तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्न आयोजक प्रदेशका रूपमा रहेको कर्णाली प्रदेशले आन्तरिक तयारी बलियो बनाइसकेको जानकारी गराए। 

‘हिजो  कर्णालीमा खेल पूर्वाधारको अभाव देखाएर धेरैपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर आउँदा पनि कर्णालीले यो अवसर लिन सकिरहेको थिएन। अहिले कर्णाली राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न हरेक हिसाबले सक्षम छ’, सदस्य-सचिव सञ्ज्यालले मन्त्री श्रेष्ठसँग भने, ‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौँ। तर, केही गरी मिति सरिहाले कर्णालीको कारण नभई त्यो संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद् वा विभागीय मन्त्रालयले जिम्मेवारी लिनुपर्छ।’

यस क्रममा सदस्य-सचिव सञ्ज्यालले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशले पाउनुपर्ने जिम्मेवारीमा राष्ट्रिय खेलकुद परिषद्‌ले हस्तक्षेप गर्न नहुने पनि बताए।

उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगिता हामी सबैको हो। जिम्मेवारी पनि सबैले पाउनुपर्छ। कसैको क्षेत्राधिकारमाथि कसैले पनि हस्तक्षेप गर्नु हुँदैन।’

पछिल्लो समय कर्णालीमा चुनौती बनेको जनशक्ति अभावको समस्या प्रदेश सरकारसहित कर्णालीका सबै स्थानीय तह, निजी क्षेत्र सबै पक्ष मिलेर सामाधान गर्न तयार रहेको जानकारी पनि उनले मन्त्री श्रेष्ठलाई गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .