ad ad

कोशी


प्रदेश १ को नामकरण विवाद : माओवादी केन्द्र बहुपहिचान जनाउने नामका पक्षमा

प्रदेश १ को नामकरण विवाद : माओवादी केन्द्र बहुपहिचान जनाउने नामका पक्षमा

सुमन पुरी
साउन ७, २०७९ शनिबार १२:४६, विराटनगर

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेशको १ को नाम बहुपहिचानका आधारमा राखिनुपर्ने निर्णय गरेको छ।

चार दिनदेखि धनकुटाको साँगुरीगढीस्थित नाम्जे र सुनसरीको इटहरीमा भएको बैठकले आफू पहिचानका पक्षमा भए पनि अहिलेको अवस्थामा जातीय आधारमा मात्रै प्रदेशको नाम राखेर जान सक्ने अवस्था नभएको निष्कर्ष माओवादी केन्द्र प्रदेश १ कमिटीले निकालेको हो। 

किराँत,कोचिला र लिम्बुवान खम्बुवानको कुरा उठाएको भए पनि अहिलेको प्रदेश १ को संरचनाले यी सबै नाम जोड्न नसक्ने अवस्था रहेको उसको भनाइ छ। बैठकले कोचिला,लिम्बुवान र किराँत प्रदेश नारामा राख्ने निर्णय गरेको छ।

नेकपा माओवादी प्रदेश १ कमिटीका उपाध्यक्ष शिव डाँगीले अन्य पार्टी र जनताको भावनालाई समेत कदर गर्दै  प्रदेशको नाम बहुपहिचानका आधारमा राख्नुपर्ने निर्णय गरिएको बताए। 

'हाम्रो माग किराँत हुनुपर्छ भन्ने हो तर अरु पार्टी र जनताको मागलाई ध्यान राख्दै किराँत कोसी, सप्तकोसी किराँत, सगरमाथा किराँत जे राखेर गए पनि हुन्छ उनले भने, 'यसले पहिचान पक्षको माग पनि सम्बोधन हुन्छ। भूगोलका आधारमा नाम राख्नुपर्छ भन्नेहरूको पनि माग सम्बोधन हुन्छ।'

अहिले प्रदेश १ को  नामकरणको विषय पेचिलो बनिरहेका बेला माओवादी प्रदेश १ कमिटीको बैठक बसेको हाे। बैठकमा सहभागी प्रदेश कमिटीका सदस्यले किराँतसँग जे नाम पनि जोडेर जान सकिने बताएका थिए। 

प्रदेश निर्वाचन क्षेत्रीय कमिटी बलियो 

माओवादी प्रदेश १ कमिटीले  संघीय र प्रदेशको निर्वाचनसम्म प्रदेश निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाउने निर्णय गरेको छ।

प्रदेशका ५६ वटै प्रदेश निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख र उपप्रमुख तोक्दै पालिकाका कमिटीलाई भने औपचारिकतामा सीमित राखेको छ।

आगामी संघ र प्रदेशको निर्वाचनलाई ध्यान दिँदै तत्कालका लागि पालिका कमिटीलाई नियमित कमिटीमा रुपान्तरण गरिएको प्रदेश सचिव गणेश उप्रेती 'सुशील'ले बताए। 

उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र कमिटी सीधै प्रदेश कमिटीसँग उत्तरदायी हुने समेत बैठकले निर्णय गरेको छ। 

यसअघि पालिका कमिटीहरु कार्यकारी कमिटीका रुपमा थिए। माओवादीको विधानले जिल्लालाई समन्वयकारी भूमिका दिँदै पालिका कमिटीलाई कार्यकारी बनाएको थियो। 

पालिका कमिटीहरूलाई औपचारिक कमिटीमा रुपान्तरण गर्दै प्रदेश क्षेत्र कमिटीलाई बलियो बनाउने निर्णय गरेको बैठकले पार्टीको सांगठनिक र राजनीतिक काम गर्ने जिम्मा सोही कमिटीलाई सुम्पेको छ। 

उपाध्यक्ष डाँगीले आगामी निर्वाचनका लागि पार्टीको अवस्था, अन्य दलहरूसँगको गठबन्धन, उमेदवार छनाेट र सिफारिस लगायतका काम गर्ने जिम्मेवारी प्रदेश क्षेत्र कमिटीलाई दिइएको बताए। 

काँग्रेससँगको गठबन्धनमा 'केमेस्ट्री' मिलेन 

बैठकमा सहभागीहरुले  कांग्रेसँगको गठबन्धन प्राकृतिक नभएको बताएका छन्।

स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआउनुमा गठबन्धनको केमेस्ट्री नमिलेको निष्कर्ष बैठकले निकालेको छ । 
धेरै पालिकामा गठबन्धन नै हुन सकेन।

बैठकमा सहभागीहरुले भने, 'गठबन्धन भएका पालिकाहरुमा पनि कांग्रेस कार्यकर्ताहरूले माओवादीलाई भोट हालेनन्।'

'कांग्रेस र माओवादीको  विचार मात्रै नमिलेको होइन, व्यवहार पनि मिलेन', बैठकमा सहभागी एक नेताले भने, 'कांग्रेससँग गठबन्धनको नेचर नै मिलेन। प्रकृति नै मिलेन। उनले भने कांग्रेसका कार्यकर्ता र समर्थकलाई माओवादीका उमेदवारलाई भोट हाल्न समस्या भएको छ । यो प्राकृतिक गठबन्धन होइन।' 

निर्वाचनमा अपेक्षाकृत सफलता हात नलाग्नुमा प्रदेश १ मा माओवादीको संगठन नै कमजोर भएको निष्कर्ष आएको उपाध्यक्ष डाँगीले बताए।

'हामीले अरूका कारण भन्दा पनि आफ्नै संगठनका कारण धेरै स्थानमा जित निकाल्न नसकेका हौँ, प्रदेशमा हाम्रो संगठन नै कमजोर भएको निष्कर्ष छ', उनले भने।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन नमान्ने र नेतृत्व अस्वीकार गर्ने प्रवृतिसमेत बढेर गएकाले निर्वाचन परिणाममुखी हुन नसकेको प्रदेश कमिटीको बैठकले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .