प्रदेश १ प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई उम्मेदवार बनाउने सहमति भएको छ। सत्ता गठबन्धनभित्रका दलले माओवादी केन्द्रका ओखलढुंगा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद गौतमलाई सभामुखको उम्मेद्वार बनाउने तयारी गरेका हो।
‘अहिलेसम्मको अवस्थामा हाम्रो पार्टी र संसदीय दलमा बाबुराम गौतमको नाममा सहमति भएको हो,’ माओवादीका एक सांसदले भने, ‘परिस्थिति परिवर्तन नभए उहाँ नै हाम्रो उम्मेदवार हो।’
सभामुखको उम्मेदवार बनाउने चयनको कार्यतालिका आज सार्वजनिक हुँदैछ। प्रदेश १मा सभामुख माओवादीको भागमा परेको छ।
प्रदेश सभा बैठकको कार्यतालिका अनुसार आजै सभामुखका उम्मेदवारको मनोनयन हुने छ। उक्त बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने कार्यक्रम छ।
नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज निर्वाचन कार्यतालिका सार्वजनिक हुने र मनोनयन आजै हुने जानकारी दिए। सभामुखको निर्वाचन भने आगामी २८ गतेका लागि तोकिएको छ।
प्रदेश १ को सरकारको नेतृत्व एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ। सोही अनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री भएका छन्। सभामुखमा भने माओवादी केन्द्रले दिएको उम्मेद्वारीलाई एमालेले समर्थन गर्नेछ।
माओवादी स्रोतले दिएको जानकारी अनुसार यसअघि माओवादी केन्द्रबाट सभामुखमा संखुवासभा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र कार्कीको नाम सार्वजनिक भएको थियो। कार्कीले सभामुख भन्दा मन्त्री बन्ने इच्छा देखाएको कारण बाबुराम गौतम नै सर्वसम्मत उम्मेद्वार बन्ने सम्भावना बढेको हो।
माओवादी केन्द्रबाटै सभामुखमा महिला सांसद गीता तिम्सिनाले पनि दाबी गरेकी छिन्। यद्यपि उनलाई माओवादी केन्द्रले उम्मेदवार बनाउने सम्भावना कम रहेको बताइएको छ। गौतम नै सभामुखको उम्मेद्वार बनेको खण्डमा उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ गरी ६० सांसदको समर्थन प्राप्त हुनेछ। ९३ जना सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। ६० सांसदको समर्थन प्राप्त भए गौतम प्रदेश १ को दोस्रो सभामुख बन्नेछन्।
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले भने सभामुखको उम्मेदवार छुट्टै उठाउने कि संयुक्त भन्ने विषयमा सहमति नभएको बताइएको छ।
कांग्रेसले अहिलेसम्म सभामुखको उम्मेदवार टुंगो लगाएको छैन।

प्रतिक्रिया