ad ad

कोशी


विराट गोल्डकपका विजेतालाई २० लाख १५ हजार रुपैयाँ

विराट गोल्डकपका विजेतालाई २० लाख १५ हजार रुपैयाँ

नेपालखबर
चैत ६, २०७९ सोमबार १९:८, विराटनगर

विराट गोल्डकप फुटबल प्रतियोगिताको राशिमा वृद्धि गरिएको छ। विराटनगरस्थित शहीद रंगशालामा चैत ९ गतेबाट हुने रात्रिकालीन विराट गोल्डकप प्रतियोगिताको विजेताले अब २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशिमा ५ लाख थप गरेर २० लाख १५ हजार पुर्याएको हो।

आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार यस प्रतियोगिताका उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’सँग साझेदारी गरेको आयोजकको भनाइ छ। खेल हेर्न आउने दर्शकले घरमै बसेर टिकट लिन सक्ने बानियाँले बताए।

आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकटदर तोकिएको छ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट आर्थिक सहयोग हुने आयोजकको अपेक्षा छ।

विराट गोल्डकप नेपाली फुटबल प्रतियोगिताहरू मध्येको सर्वाधिक ठूलो र चर्चित फुटबल प्रतियोगिता हो। अखिल नेपाल फुटबल संघ एन्फाले यो प्रतियोगितालाई क्यालेन्डरमै समावेश गरेको छ। साथै प्रतियोगिताका लागि एन्फाको प्राविधिक सहयोग रहेको छ।

नेपाली घरेलु फुटबल प्रतियोगिताको इतिहासमा काठमाडौं बाहिर विराटनगरको शहीद रंगशालामा रात्रीकालीन खेल यसअघि पनि आयोजना गरिएको थियो। २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो।

चैत ९ गतेदेखि ९ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमले नकआउट प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालका तीन विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, संकटा, जाउलाखेल र घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने भएका छन्।

यस्तै, भारतको लुका सकर र ड्ररुक लयुल फुटबल क्लब भुटान पनि प्रतियोगितामा सहभागी हुने भएका छन्।

कोशी प्रदेशको नामाकरणसँगै अशान्त बनेको कारण विराटनगरमा आयोजना हुने विराट गोल्डकपमा सहभागी हुने बताएको दिल्ली एफसी भने सहभागी नहुने भएको आयोजकले जनाएको छ। दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको ट्रष्टका अध्यक्ष बानियाँले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .