कोशी


कोशी सरकारका मुख्य उपलब्धि प्रदेशको नामकरण र मन्त्रालयको संख्या कटौती

कोशी सरकारका मुख्य उपलब्धि प्रदेशको नामकरण र मन्त्रालयको संख्या कटौती

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १७:२५, विराटनगर

कोशी प्रदेश सरकारले आफ्नो १०० दिनको मुख्य उपलब्धिको रुपमा प्रदेशको नामकरण र मन्त्रालयको संख्या कटौतीलाई सफलताको रुपमा व्यख्या गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज पत्रकार सम्मेलन मार्फत आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झारेका छन्। त्यस्तै गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको छ।यद्यपी कोशी प्रदेश खारेजीको माग गदै पहिचानपक्षधरको आन्दोलनको कारण अहिले पनि प्रदेश अशान्त छ।

मुख्यमन्त्री कार्कीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको एक सय दिनको उपलब्धिमा प्रदेश सरकारको चालु खर्चलाई २५ प्रतिशत कटौती गरेकोदेखि यस अवधिमा युद्ध, दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र आदिबासी जनजाति आन्दोलनका क्रममा मृत्यु भएका प्रदेशका १ हजार ४५० जनाको परिवारलाई जनही एक लाखका दरले १४ करोड ५० लाख उपलब्ध गराएको आफ्नो उपलब्धिमा राखेका छन्। 

उनले यो अवधिमा प्रदेशमा ४०७ मेट्रिकटन प्राङ्गारिक मल किसानलाई उपलब्ध गराएको, व्यावसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ जना किसानलाई एक करोड १७ लाख अनुदान उपलब्ध गराएको, ४६८ वटा बोयर जातका बाख्रा वितरण गरेको पनि मुख्यमन्त्री कार्कीले बताएका छन्।

८ लाख ३० हजार ६१० जनालाई कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाएको, ११६ किलोमिटर सडक कालोपत्रे भएको, ३ वटा झोलुङ्गे पुल निर्माण भएको, १५ वटा पुल निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको मुख्यमन्त्री कार्कीले बताए।

यसैगरी सरकारको प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न, सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेको पनि एक सय दिनको उपलब्धिमा राखेका छन्।

१५ वटा स्थानीय तहहरुको अद्यावधिक योजना निर्माण अगाडि बढेको, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम दिएको पनि मुख्यमन्त्रीको १०० दिनको उपलब्धिमा उल्लेख छ।

१०० दिनको समयमा प्रदेशसभाबाट दुई वटा विधेयक पास भएको, चारवटा विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको र चार वटा नियमावली स्वीकृत गरेको मुख्यमन्त्री कार्कीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .