कोशी


सारंगीसँगै रमाएका हिमाल

सारंगीसँगै रमाएका हिमाल

सुमन सुस्केरा
असार १९, २०८३ शुक्रबार १४:११, विराटनगर

कोलाहलपूर्ण सहरको एउटा कुनामा बसेर एक युवक बडो तनमनताका साथ सारंगीको तार रेटिरहेका छन्।

उनको औँलाको इशारामा सारंगीले कहिले विरहको भाका निकाल्छ त कहिले समाजको तीतो यथार्थ ओकल्छ।

सहरिया भीड आफ्नै धुनमा कुदिरहँदा बाटो हिँड्ने बटुवा र मनकारी हातहरूमा उनका अघि घुमिरहन्छ। उनी हुन्, भोजपुरको अरुण गाउँपालिका-६, जरायोटारका ३१ वर्षीय हिमाल गन्धर्व।

हिमालको परिचय यतिमा मात्र सीमित छैन। विगत डेढ दशकदेखि काँधमा सारंगी भिरेर देशका कुनाकाप्चा डुलिरहेका उनी गन्धर्व संस्कृतिका एउटा संवाहक हुन्।

सारंगीले चिनाउँदै
गन्धर्व समुदायमा जन्मिएका हिमालका लागि सारंगी पुर्खाको नासो र रगतको पहिचान हो।

‘नानी हो, यो हाम्रो संस्कृति हो, यसलाई बजाउनुपर्छ’ भन्दै बुबा बैदार गन्धर्वले १० वर्षको उमेरमै हिमालको बाल मस्तिष्कमा पुर्‍याइसकेका थिए। बुबाको सामीप्यमा औँलाहरू चलाउन सिक्दासिक्दै हिमालले सारंगीको धुनमा आफ्नो बाल्यकाल भुले।

१५ वर्षको पुग्दा नपुग्दै उनी आफैँ गीत गाउँदै हिँड्न सक्ने भइसकेका थिए। त्यसपछि सुरु भयो उनको व्यावसायिक सारंगी यात्रा। सुरुवाती दिनहरूमा गुडिरहेका बस र गाडीहरूमा चढेर गीत गाउने हिमाल अचेल भने पूर्वको सुन्दर सहर धरान लगायतका विभिन्न बजारमा केन्द्रित छन्।

घरको आर्थिक अवस्था र विदेश जाने सपनाले गर्दा हिमाललाई पनि १९ वर्षको उमेरमा खाडी मुलुक हुइँक्यायो। उनी श्रम बेच्न मलेसिया पुगे। मलेसियाको तातो घाममा करिब चार वर्ष पसिना बगाउँदा उनले पैसा त केही कमाए, तर मनमा सधैँ त्यही सारंगीको धुन मात्र गुन्जिरह्यो।

अर्काको देशमा जति नै कमाए पनि आफ्नो माटो र पुर्ख्यौली पेसाको न्यास्रोले उनलाई छोडेन। २५ वर्षको उमेरमा पुगेपछि उनले दृढ संकल्प गरे- अब जे गर्छु, आफ्नै माटोमा गर्छु र आफ्नै पुर्खाको पेसालाई अगाडि बढाउँछु।

त्यसयता उनी निरन्तर सारंगीको धुनसँगै खेलिरहेका छन्। आफ्नो पेसालाई पछ्याउँदै पूर्वका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, सोलुखुम्बु र उदयपुर मात्र होइन, चितवन, काभ्रे र काठमाडौँसम्म पुगिसकेको बताउँछन्।

हिमाल भन्छन्, ‘इच्छा र चाहना भयो भने गीत गाउँदै हिँड्ने मान्छे जता पनि पुग्न सक्ने रहेछ।’ हिमालको यो जीवन यात्राभित्र जीविकोपार्जनको ठुलो संघर्ष छ।

‘सारंगी रेटेर मात्रै आजको महँगीमा घर व्यवहार चलाउन धौ-धौ पर्छ,’ उनी भन्छन्। आकाशबाट पानी दर्किएका दिन उनको व्यवसाय ठप्प हुन्छ।

हिउँदको महिना र पर्यटकीय सिजनमा मानिसहरूको आवतजावत बाक्लो हुँदा महिनाको १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने उनले सुनाए।

‘बिहानैदेखि बेलुका ७ बजेसम्म बाटोमा बस्नुको एउटै उद्देश्य भनेको साँझ घर फर्कँदा केही कमाइ होस् भन्ने आस मात्रै हो,’ हिमाल भन्छन्। यही अनिश्चितताका कारण उनले गाउँमा खेतीपातीलाई पनि निरन्तरता दिएको बताए।

उनको गाउँ भोजपुरमा धान फल्ने खेत छैन, पाखोबारी मात्र छ। चैत-वैशाखमा पाखोबारीमा मकै रोपेर, गोडमेल सकेपछि मात्र उनी सारंगी बोकेर सहर पस्छन्। हिमालका लागि मकै बारीले पेट भर्न सक्दैन। सारंगीको धुनले नुन-तेल र गुन्द्रुकको मेलो मिलाउँछ।

समय बदलिएसँगै गन्धर्व संस्कृति र सारंगीलाई हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन आएको हिमालको अनुभव छ।

अचेल कतिपयले विवाह र व्रतबन्ध जस्ता शुभ कार्यमा गन्धर्वहरूलाई विशेषरूपमा निमन्त्रणा गर्ने गरेका छन्। ‘विवाहमा गन्धर्वलाई बोलाएर सारंगी बजाउने, भजन टोलीसँगै गीत गाउने र रमाइलो गर्ने चलन कताकति सुरु भएको छ,’ उनी भन्छन्।

पेसागत जिम्मेवारीबाहेक हिमालले आफ्नो कलालाई सामाजिक सचेतनाको माध्यमसमेत बनाएका छन्। विगतमा उनले वैदेशिक रोजगारका विकृतिलाई पनि सारंगीमा रेट्छन्।

समाजमा देखिएको वातावरणीय प्रदूषण, सुशासन, बेथितिका विरुद्धमा सारंगीकै माध्यमबाट जनचेतना जगाउने काम गर्छन्। मानिसहरूले खाएर जताततै प्लास्टिक र फोहोर फ्याँक्ने बानीले वातावरण विनाश भइरहेको विषयमा उनले तयार पारेको गीत गाएर सचेतना जगाइरहेका हुन्छन्।

हरेक स्थानीय पालिकाले गन्धर्व संस्कृतिलाई संरक्षण गर्न सकेको देखिँदैन। आधुनिकताको भेलमा मौलिक संस्कृतिहरू हराउँदै गइरहेका बेला, भोजपुरका हिमाल गन्धर्व भने सारंगीको एउटा तार र मकैको एउटा झुत्ताको भरमा आफ्नो पहिचान बचाइराख्न संघर्षरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad