धरान उमपहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर नराख्ने कुरामा यथावत रहेका छन्।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर लिएर पुगेका पाँच दलका कार्यकर्तासँगको वार्तामा मेयर साम्पाङ टसमस नभएका हुन्।
पाँच दलका कार्यकर्तासँग कार्यकक्षमै भएको संवादका क्रममा मेयर साम्पाङले प्रधानमन्त्री दाहालले धरानलाई हेपेको पनि गुनासो गरे।
आगामी पुस २० गते हुन लागेको धरान उत्सवको प्रमुख अतिथिका रुपमा आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री दाहालले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर हटाइदिएको उनले बताए।
मेयर राईले पुस १२ गते आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रथम किराती राजा यलम्बरको राखेपछि दलहरू असन्तुष्ट छन्। यस्तोमा मंगलबार दलका कार्यकर्ताहरू मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर फेरि राख्न उपमहानगरपालिकाको कार्यालय पुगेका थिए।
‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र? कदापि गर्दिनँ!’, उनले भने, ‘दलविहीन भए पनि म जनताले जिताएको मान्छे हो। मैले प्रधानमन्त्रीलाई गएर निम्तो दिएँ तर म स्वतन्त्र भएकाले उहाँ यहाँ आउन मान्नु भएन।’
उनले यदि कार्यकक्षमा तस्बिर राख्ने भए राजनीतिक दलहरूसहित गएर प्रधानमन्त्रीलाई धरान उत्सवमा ल्याउनुपर्ने बताए।
‘राजनीतिक दलसहित गएर प्रधानमन्त्रीलाई निम्तो गर्दा मात्रै औचित्य हुन्छ। प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउन सबैले मिलेर पत्र पठाऊँ’, उनले भने, ‘उहाँलाई हामीले भेटेर पत्र दिएर आएका हौँ। प्रधानमन्त्रीले सारा धरानेलाई अपमान गरे जस्तो लाग्यो। प्रधानमन्त्री आफैं आउनु भयो भने राम्रो हुन्छ। उहाँ आएदेखि तस्बिर टाँस्न कुनै समस्या छैन।’
मेयर साम्पाङ आफ्नो अडानबाट टसमस नभएपछि दलका नेता कार्यकर्ताहरू राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर बोकेर फर्किएका छन्।
दलका कार्यकर्ताहरू पुग्दा उपमहानगपालिकाको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा थियो। दलका कार्यकर्तालाई छिर्न नदिन उपमहानगरको प्रवेशद्वार बन्द गरिएको थियो। सीमित कार्यकर्तालाई छिर्न दिएर भएको वार्ता नमिलेको हो।
Shares
प्रतिक्रिया