नेकपा माओवादी केन्द्र, कोसी प्रदेशले निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसपछि आएका विषयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टीको कोसी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले एक विज्ञप्ति जारी गर्दै मानव तस्करीजस्तो गम्भीर अपराधमा मन्त्री नै संलग्न हुनुले सिंगो प्रदेशवासीको शिर निहुरिएको उल्लेख गरेकी छिन्।
‘जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रियासमेत पुरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रदेश सरकार कसरी बेखबर रहे? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरुको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरु जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय हो,’ जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्री अधिकारीले मुख्यमन्त्रीसँग समेत अनुमति नलिइ गत कात्तिक १३ गते जापान गएका थिए।
कूटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएको पाइएपछि उनले राजीनामा समेत दिने भएका छन्।
यस विषयमा आपत्ति जनाउँदै माओवादी केन्द्र कोसीले भनेको छ, ‘जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाब मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्त व्यक्तिहरुको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करी प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ।’

Shares

प्रतिक्रिया