ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको पक्षमा लागेका पदम चन्जी माबोलाई मोसो दल्ने ८ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
नो केबलकार पक्षधर मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले आइतबार दिउँसो धरानमा माबोलाई मोसो दलेका थिए। माबोले कालो मोसो दल्ने ८ जनाका विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले ८ जना विरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमल्सिनाले जानकारी दिए।
उनीहरूको नाम गोप्य राखिएको छ। पक्राउ पुर्जी लिएको प्रहरीले मोसो दल्ने व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।
माबोले पाथीभरा मन्दिरमा केबलकार निर्माणको पक्षमा सामाजिक सञ्जालबाट आफ्ना धारणा राख्दै आएका थिए। माबोले नो केबलकार पक्षधरलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले आरोप छ।
आइतबार भएको घटनाको विषयमा मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले बचाउ गर्दै मावोले विगतदेखि नै केबलकार जसरी पनि बनाउनु पर्छ भन्दै खरो अभिव्यक्ति दिँदै आएको र अस्वाभाविक क्रियाकलाप देखाउँदै आएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नो केबलकार पक्षधरहरूमाथि नाना भाँती आरोप र मिथ्या लाञ्छना लगाउँदै आएको, किरात धार्मिक गुरु र आस्थावान् सिङ्गो समुदायमाथि अपाच्य, अशोभनीय र अपमानित शब्द प्रयोग गर्दै आएका छन्। पवित्र मुन्धुम स्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबुङ सम्पदामाथि अतिक्रमण हुँदा प्रतिरोध गर्नुपर्नेमा उल्टै अतिक्रमणकारीहरूबाट हामीमाथि हतियारको रूपमा उनी प्रयोग भएका छन्।’
‘लोकतन्त्रमा आफ्नो विचार अभिव्यक्त गर्न पाइने स्वतन्त्रता सबैलाई छ तर त्यसको मुन्धुम, सामाजिक मूल्य, मान्यता र सीमाहरू हुन्छन्, विज्ञप्तिमा भनिएको छ, आफ्नै सम्पदा, संस्कृति र समुदायको विरुद्धमा दलालहरूको हतियारको रूपमा प्रयोग हुँदै आएकोमा सम्पदा संरक्षणमा लागेका समुदायले उनीमाथि हिजो धरानमा सोधपुछ गरेको हो।’
आन्दोलनरत १२ वटा संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै राज्यले मध्यरातमा किरात याक्थुम चुम्लुङ सुनसरीको कार्यालयमा घेराउ गरी आतङ्कित पारेको भन्दै विरोधका कार्यक्रम यथावत् रहेको पनि बताएका छन्।
संयुक्त विज्ञप्तिमा फागुन ५ देखि ९ गते सम्मको मुक्कुमलुङ पदयात्रा गर्ने पनि उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया