कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यकक्षमा मोबाइल लग्न प्रतिबन्ध लगाइएको छ।
नियमित कार्यलाई अप्ठ्यारो भएको भन्दै मुख्यमन्त्री कार्कीको कार्यकक्षमा मोबाइल लग्न प्रतिबन्ध लगाइएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिए।
जो कोहीलाई पनि मोबाइल भित्र लग्न प्रतिबन्ध लगाइएको झन्डै तीन चार महिना भइसकेको उनको दाबी छ। मुख्यमन्त्रीको कार्यकक्षा मात्र होइन मन्त्रिपरिषद् क्याबिनेटमा पनि मोबाइल लग्न नपाउने नियम बनाइएको उनको भनाइ छ।
‘मुख्यमन्त्रीज्यूलाई भेट्न जाँदा जो कोहीले मोबाइल लग्न नपाउने नियम लगाइएको छ’, उनले भने, ‘यो नियम अहिले लगाइएको होइन चार पाँच महिना भइसक्यो। मिडियाले यो विषयमा बल्ल थाहा पाएका छन्।’
मुख्यमन्त्री सुरक्षा स्रोतका अनुसार, पछिल्लो केही एक दुई दिनदेखि यो नियम लगाइएको छ। तर उनको सचिवालयले भने यो कुरालाई लामो समयदेखिको अभ्यास भन्दै आएको छ।
मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ। त्यही प्लास्टिकको बक्साभित्र मोबाइलहरू राख्ने व्यवस्था मिलाइएको छ।
जनसम्पर्क सल्लाहकार खनालले मोबाइल बोकेर मुख्यमन्त्रीको कार्यकक्षभित्र प्रवेश गर्नेहरूले फोटो खिचेर समय लिइदिने गरेका कारण निषेध गरिएको बताए।
Shares

प्रतिक्रिया