नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत र कर्मकाण्डी भएको टिप्पणी गरेको छ।
नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोसी प्रदेश सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सरकारको पछिल्लो १० महिनामा सरकारले नागरिकलाई निराशामा धकेल्ने काम गरेको बताए।
पछिल्लो १० महिनाको अवधिमा सरकार प्रति नागरिकको असाध्यै निराशा सिर्जना गरेको बताए। सरकारले केही गर्नै सक्दैन भन्ने भाष्यलाई तोड्नु पर्ने र जनताको आशा जगाउन सक्नु पर्नेमा त्यो नभएको आङ्बोले आरोप लगाए।
‘नागरिकको निराशालाई चिर्न त सकेन नै, यो नीति तथा कार्यक्रम असाध्यै निरस छ’, उनले भने, ‘परम्परागत र कर्मकाण्डी रूपबाट विगतको सामान्य निरन्तरता भन्दा केही आएको छैन।’
सरकारले अहिलेको गतिरोधलाई तोड्ने र नागरिकको निराशालाई कम गर्ने खालको नीति तथा कार्यक्रमको अपेक्षा गरिएकोमा त्यो नभएकोसमेत उनको भनाई छ। कार्यान्वयनमा नै नगएको ‘मुख्यमन्त्री ड्यासबोर्ड’, कार्यकर्ता भर्ती केन्द्र जस्तो भएको ‘म अघि बढ्छु’, क्षेत्राधिकार बाहिरको विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई माओवादीले नीति तथा कार्यक्रममाथि प्रश्न उठाएको छ।
केचनादेखि सगरमाथासम्मको द्रुत मार्ग, रेलमार्ग र सुरुङ मार्गका कुराहरू सीमा र क्षेत्र भन्दा बाहिरका कार्यक्रम आएको माओवादीको टिप्पणी छ।
‘विगतको असफल भइसकेको र विवादास्पद तथा महत्त्वाकाङ्क्षी योजनालाई फेरी ल्याइएको छ’, आङ्बोले भने, ‘केही विवादास्पद कार्यक्रमलाई दोहोर्याएको तथा कार्यान्वयनमा नै जान नसक्ने योजनाहरू पनि नीति तथा कार्यक्रममा ल्याइएको छ।’
धेरै क्षेत्रलाई समेट्ने कोसिस गरिएको भए पनि प्रदेशको प्राथमिकता नै निर्धारण हुन नसकेको उनको आरोप छ। नीति तथा कार्यक्रमले प्रदेशको जिडिपी, आर्थिक वृद्धिदर नीति तथा कार्यक्रम कार्यान्वयन पछि कहाँ पुग्छ, सिङ्गो आर्थिक विकासमा प्रदेशको योगदान के हुन्छ भन्ने नीति तथा कार्यक्रमले कहीँ कतै नछोएको समेत टिप्पणी गरेको छ।
आङ्बोले प्रदेशको रूपान्तरणकारी आयोजनाहरू के के हुन् भन्ने योजनाको प्राथमिकीकरण नहुँदा सरकारले वितरणमुखी योजनामा केन्द्रित हुन खोजेको आशङ्का व्यक्त गरे। शिक्षा क्षेत्रको सुधारमा सरकारको नीति तथा कार्यक्रम अनुदार रहेको समेत माओवादीको टिप्पणी छ।
कोसी प्रदेश सरकारले आफ्नो श्रोत परिचालन गरेर संरचना निर्माणमा केन्द्रित भएर अघि बढेमा प्रतिपक्षीले सहयोग गर्ने उनले बताए। बेतिथिहरूको चाङमाथिको रमिते बनेको सरकारबाट सुशासनको प्रतिबद्धता भ्रम मात्रै भएको समेत आङ्बोले बताए।
कोसी प्रदेश सरकारले सोमबार प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रम माथि मङ्गलवारदेखि प्रदेश सभामा छलफल सुरु भएको छ। छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक गीता तिम्सिनाले नागरिकले नीति तथा कार्यक्रमको बारेमा सोधे भनेँ किताब नै लगेर देखाउनु पर्ने अवस्था आएको बताइन्। शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन सहित महिला, युवा तथा किसानका विषयहरू कार्यक्रममा ल्याइएको भए पनि व्यवहारमा कार्यान्वयनमा लग्न चुनौती दिइन्।
सांसद प्रेमराज थाम्सोहाङले कोसी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमहरू सबै क्षेत्र अपुरो ल्याएको बताए।
नेकपा एमालेका सांसद किशोरचन्द्र दुलालले योजना बैँक मार्फत सरकारले योजनालाई व्यवस्थित गर्न लागेकोले पहुँचको आधारमा वितरण हुने परिपाटिको अन्त्य हुने बताए। नीति तथा कार्यक्रम कार्यान्वयनमा लिएर जाने हो भने कोसी प्रदेश समृद्ध हुने दाबी उनको छ।
नेपाली कांग्रेसका सांसद इस्राइल मन्सुरीले सङ्घ, प्रदेश र स्थानीय तहको बिचमा समन्वय गर्ने कुरा असाध्यै महत्त्वपूर्ण भएको भन्दै सरकारको प्रशंसा गरे। सुकुम्वासी समस्या समाधान गर्ने कुरा, विराटनगर विमानस्थल विस्तार तथा केचना देखि सगरमाथासम्मको जोड्ने द्रुत मार्ग र चतरा देखि चौरीखर्कसम्म जोड्ने अवधारणा सङ्घीय सरकारसँग मिलेर गर्ने कार्यक्रम राम्रो भएको बताए। संसदीय समितिहरूले दिएको सुझावलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै बजेटमा समेटेर जान सुझाव दिए।
गत वर्षको उपलब्धि खै?
नेकपा एकीकृत समाजवादी पार्टीका सांसद खिनु लङ्वा लिम्बुले अघिल्लो वर्षको नीति तथा कार्यक्रमले कति लक्ष्य हासिल गर्यो, बाँकी हासिल गर्नु पर्ने योजनाहरू के के छन् भन्ने यकिन गरी त्यसलाई पुरा गर्न नीति तथा कार्यक्रमले समेट्न सरकारले ध्यान दिनु पर्ने बताइन्। यो नीति तथा कार्यक्रममा चिया खेतीको विषय कहीँ कतै पनि उल्लेख नभएको भन्दै उनले आपत्ति जनाइन् ।
सरकारले ४० प्रतिशत राजश्व प्राप्त गर्ने इलामको कन्याममा बनेको टी टेष्टिङ सेन्टरको कुरा नै उल्लेख नभएको बताइन्। चिया तथा कफी विकास बोर्डलाई प्रदेशमा नै ल्याउने गरी गत वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएकोमा यो वर्ष कुनै उल्लेख नभएको बताइन्।
चतरा, वराहक्षेत्र, खुवालुङ, धर्म गुरुहरूको स्थल बाहेक पर्यटनमा कुनै पनि कुरा उल्लेख नगरिएको उनले भनाई छ। गत वर्षको नीति तथा कार्यक्रमहरूले धेरै क्षेत्रको उल्लेख गरिएको भए पनि यो वर्ष सबै कुरा नीति तथा कार्यक्रमले भुलेको बताइन्।
Shares

प्रतिक्रिया