कोशी


कोसी प्रदेशका सांसदको गुनासो– मन्त्रीलाई १० पटक ढोगेँ, समस्याको सुनुवाइ भएन

कोसी प्रदेशका सांसदको गुनासो– मन्त्रीलाई १० पटक ढोगेँ, समस्याको सुनुवाइ भएन

सुमन सुस्केरा
जेठ ७, २०८२ बुधबार १४:४१, काठमाडौँ

कोसी प्रदेशसभाका सांसदहरूले विपद्को बेलामा क्षति भएका संरचनाको जीर्णोद्धारको लागि सरकारले बजेट व्यवस्थापन गर्न नसकेको बताएका छन्।  

बुधबारको कोसीप्रदेश सभाको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले आवश्यकता नभएको ठाउँमा बजेट पठाउने तर क्षति भएका संरचनाको पुन निर्माणको लागि बजेट नहालेको बताए। 

उदयपुरका सांसद सम्झना तामाङ थाम्सोहाङले १० पटक नमस्कार गर्दा पनि मन्त्रीले समस्या नसुनेको बताइन्। ‘मैले सामाजिक विकास मन्त्रीलाई १० पटक ढोगेँ होला’, उनले भनिन्, ‘विपद्का कारण क्षति भएको विद्यालयको अवस्था नाजुक रहेको बारेमा जानकारी गराउँदा पनि मन्त्रीले कुरा नै सुन्नु भएन।’

इलामकी सांसद खिनु लङ्वा लिम्बुले विपद्को कारण सडक अवरुद्ध हुँदै आउँदा पनि विपद् कोषबाट मर्मत सम्भार गरेर सडक सुचारु गर्ने प्रयास नभएको बताइन्। इलामको मयुँ खोलामा पुल भाँचिदा इलाम जिल्लाका ३ वटा पालिकामा आवत जावतमा ३ वर्षदेखि समस्या भएको बताइन्। 

उनले तत्काल मर्मत सम्भार गरी सहज यातायात सुचारु हुने वातावरण बनाउन माग गरिन्। विगतको वर्षाका कारण सन्दकपुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको भए पनि क्षतिग्रस्त संरचना मर्मत सम्भारको लागि सरकारले बजेट नछुट्याईएको जानकारी गराइन्। 

सोलुखुम्बुका सांसद गोम्बु शेर्पाले विद्युत् आपूर्तिमा निरन्तर समस्या आएको बताए। झ्याप्प झ्याप्प लाइन जानुको कारण स्पष्ट पार्न उनले आग्रह गरे। ‘सरकारले अन्धकार युगतिर लग्न लागेको हो? टुकी युगतिर जान लागेको हो, अन्धकार ओली युग तिर जानु पर्ने अवस्था ल्याउन लागिएको हो?,’ उनले भने।

झापाका सांसद तिलचन पाठकले एसियन हाइवे प्रदेशको गौरवको विषय भएको बताए।९६  किलोमिटर स्तरोन्नतिको कामहरू भइरहेको जानकारी दिँदै एसियन हाइवेको निर्माणको क्रममा डाइभर्सनमा हुने दुर्घटनाले धेरैको ज्यान जाने गरेको उल्लेख गरे। उनले डाइभर्सनलाई व्यवस्थित गर्न माग गर्दै वैकल्पिक सडकको रूपमा मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई तत्काल पूर्ण सञ्चालनमा ल्याउन आग्रह गरे। 

सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले कसैको देवत्व करण गर्नु पर्ने अवस्था नरहेको भन्दे विद्युत् आपूर्ति अवरुद्ध हुनुमा प्राविधिक विषयहरूलाई बुझ्न उनले चुनौती दिए। 

सुनसरीका सांसद रामदेव यादवले सुनसरीका भित्री सडकहरू जीर्ण रहेको बताउँदै मर्मत सम्भारका लागि  भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराए। तेह्रथुमका प्रदेश सभा सदस्य कमला दर्नालले स्वास्थ्य बिमा कार्यक्रम झन्झटिलो भइरहेको बताउँदै रेफर लिनु पर्दा समस्या भएको बताइन्। 

उनले पहाडी जिल्लाबाट तराईमा उपचार गर्न आउँदा एउटा अस्पतालबाट अर्को अस्पतालमा जाँदा अस्पतालै पिच्छे  रेफर लिनु पर्ने बाध्यता रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad