नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विवादमा परेपछि पदमा बसेको ब्यक्तिले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा भिजिट भिसाको लागि लाखौँ लिएको आरोप लागेका गृहमन्त्री रमेश लेखकले आफू त्यो केशमा निर्दोष छु भनेर देखाउनको लागि पनि पदबाट बाहिर रहनु उपयुक्त हुने बताएका हुन्।
‘नेपालको संसदीय इतिहासमा यस्ता खालका घटनाहरू घटिरहेको छन्, यस्ता घटनाहरू घट्दा मन्त्रीहरूले राजीनामा दिएर छानबिन समिति बनाएर अगाडि बढेको तपाईँ हामी सबैलाई थाहै छ’, कोइरालाले भने। उनले आफूमाथि प्रश्न् उठ्दा डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बाँस्कोटा र शेरबहादुर तामाङले राजीनामा दिएको उदारण दिए।
‘यस्ता विषय आउनु नौलो कुरा हैन, जुन कुराहरू आइरहेका छन्,’ कोइरालाले भने, ‘यस्ता कुराहरू आउँदा मोरल ग्राउन्डमा पनि म बाहिरिन्छु, छानबिन गर भने हुन्छ। सिम्पल कुरा हो यो त।’ उनले नीतिगत भ्रष्टाचारहरूमा मन्त्री, प्रधानमन्त्रीहरूलाई छानबिन नै नहुने र कर्मचारीहरूलाई मात्रै छानबिन हुने गरेको समेत बताए।
‘जो रमेशजीको जुन कुरा छ, गृह मन्त्रालय उहाँको नेतृत्वमा छ,’ कोइरालाले भने, ‘उनले नैतिकताको हिसाबले म क्लीन छु, म अहिले राजीनामा दिन्छु, तपाईँहरू छानबिन समिति बनाउनुस्, छानबिन गर्नुस् भन्दा भइहाल्यो।’
उनले थपे, ‘त्यसले मोरल स्टाटेटस देखिन्छ, त्यो कुरालाई हामीले ध्यान दिनुपर्छ।’
फरक प्रसँगमा कोइरालाले निजामती सेवा ऐनमा कुलिङ पिरियड दुई वर्ष राख्ने विषयलाई तलमाथि गर्नै नहुने बताए। उनले भने, ‘संवैधानिक निकायहरूमा अहिले पनि २२/ २३ जना सचिवहरू रहेका छन्, यसले के देखाइरहेको छ भनेँ, सचिवहरूको यो पोस्ट रिटायर्डमेन्ट क्लब जस्तै बनेको छ।’
Shares

प्रतिक्रिया