मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भारी वर्षा हुन थालेपछि कोसी राजमार्गअन्तर्गत धेरै ठाउँमा सडक बन्द भएका छन्।
गएरातिदेखि जारी वर्षाका कारण बाढी, पहिरो र रुख ढलेर राजमार्ग ठाउँठाउँमा विच्छेद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रहरीका अनुसार कोसी राजमार्गअन्तर्गत धरानबाट भेडेटार जाने सडकमा वर्षाका कारण रुख ढल्दा यातायात अवरुद्ध भएको छ।
रुख पन्छाउने प्रयास भइरहे पनि साँगुरीगढी गाउँपालिकास्थित लेउती खोलाले सडक नै बगाएको छ।

बाढीका कारण सडक क्षतविक्षत भएको प्रदेश प्रहरीले जनाएको छ। जसका कारण धरान-धनकुटा सडक अवरुद्ध भएको छ।
सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
कोसी राजमार्गअन्तर्गत शनिबार बिहान करिब ६ बजेतिर धनकुटाको साँगुरीगढी गाउँपालिका-६, फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले १०० मिटरभन्दा बढी सडक बगाएको प्रहरीले जनाएको छ।

सडक बगाएपछि त्यहाँ दुवै तर्फ गाडी चल्न सकेका छैनन्। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नमस्ते झरनानजिकै रुख ढलेर सडक अवरुद्ध भएको छ।

त्यस्तै माथिबाट सडकमा पहिरो पनि झरेको छ।
पहिरो खसेपछि भेडेटारबाट प्रहरी निरीक्षक रमेश प्रधानको नेतृत्वमा प्रहरी र नेपाली सेनाको टोली त्यहाँ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
Shares

प्रतिक्रिया