पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो पटकको कोसी प्रदेशको भ्रमणले आफ्नो थप चर्चा हुने बताएकी छिन्।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले कोसी प्रदेश आफूले राजनीति गरेको ठाउँ भएकोले पनि भ्रमणको बढी चर्चा हुने बताइन्।
‘यस अघि कोसी प्रदेशमा आएको बेला पार्टी कार्यकर्ता भेटेर राजनीतिमा सक्रिय हुन लागेको विषयले चर्चा पाएको थियो नि’ भन्ने नेपालखबरको प्रश्नमा भण्डारीले स्थानीय पालिकाका उपप्रमुखहरूको सम्मेलनको लागि आएकोले यसपटक थप चर्चा हुने बताइन्।

‘यो पटकको विराटनगर बसाइको थप चर्चा हुनेछ, देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरूको सम्मेलनमा सहभागी हुन आएको छु,’ भण्डारीले भनिन्, ‘पहिलाको भन्दा यो पटक बढी चर्चा हुन्छ नै, हुनुपर्छ।’
उनको यो भनाइले विराटनगरमा हुन लागेको दुई दिने उपप्रमुख तथा उपाध्यक्षहरूको सम्मेलनले पूर्वराष्ट्रपतिलाई राजनीतिमा थप सक्रिय बनाउने संकेत गरेको छ।
साता लामो चीन भ्रमण सकेर केही दिनअघि मात्र स्वदेश फर्केपछि भण्डारी लगत्तै विराटनगर आएकी हुन्, जहाँ उनी देशभरका पालिका उपप्रमुख तथा उपाध्यक्षहरूको भेलामा प्रमुख अतिथि बन्दै छिन्।
भण्डारीले विराटनगरमा आफ्नो चीन भ्रमण सफल भएको खुलेर बताइन्। नेपालका कम्युनिस्ट पार्टीहरू मिलाएर जान चीनको सन्देश बोकेर फर्कनु भएको हो भनी सोधिएको प्रश्नमा भण्डारीले भनिन्, ‘हल्लाको पछि लाग्नु भएन। सबैको आफ्नै दायित्व छ, म एउटा कार्यक्रमको सिलसिलामा चीन गएको थिएँ। कार्यक्रममा सहभागी भएर फर्किएँ, बाहिर के के हल्ला हुन्छन् त्यो त मलाई थाहा भएन।’

चिनियाँ कम्युनिस्ट नेताहरूसँग भेट भएपनि उनले ‘चीनले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक गराउन सन्देश दिएको’ भन्ने विषयलाई हल्ला मात्रै भएको बताइन्।
‘तपाईँहरू हल्लाको पछाडि नलाग्नु न, म जे भन्छु त्यो बुझ्नु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।
एमाले उपाध्यक्ष गुरु बराल, एमाले नेता विनोद ढकालसँगै पूर्वराष्ट्रपति भण्डारी बिहीबार विराटनगर अवतरण गर्दा उनलाई स्वागत गर्न विमानस्थलमा कार्यकर्ताहरूको ठूलो जमात उपस्थित भएको थियो।
कोसी प्रदेश सरकारका मन्त्रीहरू रेवतीरमण भण्डारी, पाँचकर्ण राई सहितका मन्त्रीहरू मात्रै थिएनन् धेरै सांसदहरू पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए।

एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै स्वागत गरे। पूर्वराष्ट्रपति भण्डारीले झापामा २ दिन नेता कार्यकर्ता भेट्ने योजना रहेको उनी निकट एक नेताले बताए।
२३ गते विराटनगरमा उपप्रमुख उपाध्यक्षको राष्ट्रिय सम्मेलन सकेर साँझ झापा जाने कार्य तालिका अनुसार उनी २४ गते झापामा प्रविधिसँग बालबालिका कार्यक्रममा सहभागी हुने छिन्।
लगत्तै २५ गते झापामा नै महिलाहरूले आयोजना गर्ने एक कार्यक्रममा सहभागी भएर साँझ काठमाडौँ फर्किने भण्डारीको कार्यतालिका रहेको छ।


Shares

प्रतिक्रिया