कोशी


ग्रामथानका अध्यक्ष माझीको ‘इगो’ले मल पाउनबाट किसान वञ्चित, अर्को चरणमा कोटा नै नआउने आशंका

ग्रामथानका अध्यक्ष माझीको ‘इगो’ले मल पाउनबाट किसान वञ्चित, अर्को चरणमा कोटा नै नआउने आशंका

सुमन सुस्केरा
साउन २५, २०८२ आइतबार २०:६, विराटनगर

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षले कानुनमा भएको व्यवस्थाको उल्लङ्घन गर्दै अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लत्याएका छन्।

पालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्षको संयोजकत्वमा बस्ने मल खाद अनुदान उपलब्ध गराउने स्थानीय समितिको सदस्यहरूलाई समितिबाट हटाएर कानुनको धज्जी उडाएको स्थानीयको गुनासो छ।

अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भण्डारी र कृषि विकास शाखाका प्रमुख सुरेन कुमार माझीलाई समितिबाट हटाउने पत्र थमाएका छन्। उनलाई हटाउने पत्र दिइएसँगै समितिको बैठक बस्न सकेको छैन। 

रासायनिक मलको कोटा बाँडफाँड गरी निर्णय गर्नकोलागि समितिका दुवै जना सदस्यलाई उपाध्यक्ष गुणवती देवी थारुले मौखिक बैठक बोलाएको भए पनि अध्यक्ष माझीले बैठकमा नजान भनेपछि बैठक बस्न नसकेको हो।

लिखित पत्रको सुइँको पाएपछि हटाइए 
मौखिक बैठक नबसेपछि लिखित बैठक बस्न लागेको सुइँको पाएका पालिका अध्यक्ष माझीले साउन १८ गते नै दुवै सदस्यलाई हटाउने पत्र दिएका थिए। 

पत्रमा लेखिएको छ, ‘अर्को व्यवस्था नभएसम्म तपाईँ विनोद कुमार भण्डारी सदस्य र सुरेन कुमार माझी सदस्य सचिवबाट साउन १८ गतेदेखि लागू हुने गरी हटाइएको छ।’ 

नामोनारायण माझीले लेखेको पत्रको बोधार्थ उपाध्यक्षलाई पनि दिइएको छ।  

रासायनिक मलको कोटा बाँडफाँड सम्बन्धी निर्णय हुन ढिलाइ हुँदा किसानले मल खाद नै पाउन सकेनन्।

मल खाद नै नपाएको विषयमा किसानहरू पालिकामा घेर्न आउन थालेपछि उपप्रमुखले लिखित बैठक बस्नको लागि समितिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवलाई लिखित पत्र लेखेकी थिइन्। २१ गतेको पत्रमा उनले साउन २२ गते ११ बजे नै बैठक बस्ने उल्लेख गरेकी छिन्।

उनीहरू बैठकमा आएनन्। लगत्तै उपाध्यक्ष  थारुले साउन २३ गते अर्को पत्र काटिन्। २३ गतेको पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत निलेश सापकोटा र सदस्य सचिव सुरेन कुमार माझीलाई पत्र लेखेकी थिइन्।

२५ गतेलाई बोलाइएको बैठक बस्ने पत्र आएपछि दुवै जना (निलेश सापकोटा र सुरेन कुमार माझी) ले साउन २३ गते मार्ग निर्देशन गर्ने सम्बन्धमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जनालाई पत्र लेख्छन्।

दुवै जनाले लेखेको पत्रमा भनिएको छ, ‘स्थानीय समिति (अनुदानको मल वितरण व्यवस्थापन) बाट अर्को व्यवस्था नभएसम्मका लागि सदस्य र सदस्य सचिवबाट साउन १८ गतेदेखि लागू हुने गरी हटाइएकोले स्थानीय समितिको बैठकमा उपस्थितिका लागि पत्राचार भएकोले सो सम्बन्धमा के गर्ने के नगर्ने दुबिधा रहेकोले मार्ग निर्देशित गर्नु हुन अनुरोध छ।’

उनीहरूले लेखेको पत्रमा पालिकाका अध्यक्ष माझीले १८ गतेको पत्र अनुसार कार्यान्वयन गर्न निर्देशन दिएका छन्। त्यो भनेको समितिको बैठक नबस्न उनको निर्देशन थियो। उनले दिएको यो निर्देशन नै किसानले मल नपाउने दरिलो आधार बनेको छ। गाउँपालिकाका अध्यक्ष माझीका कारण किसानले मल खाद नपाउने अवस्था आएको भन्दै किसानहरू चिन्तित बनेका छन्। 

समितिको बैठक बस्न नसकेपछि गाउँपालिकाका उपाध्यक्ष गुणावती देवी थारुले साउन २५ (आइतबार) बिहान बैठक बोलाएकोमा सदस्य र सदस्य सचिव दुवै जना आएनन्।त्यसपछि एक्लो हस्ताक्षर सहितको पत्र लिएर पालिकाका वडा अध्यक्षहरू सहित कृषि सामग्री कम्पनी लिमिटेड पुगेको उपाध्यक्ष थारुले जानकारी दिइन्।

‘किसानले मल नपाउने अवस्था आएपछि म पत्र बोकेर कृषि कम्पनी पुगेको हुँ, उपाध्यक्ष थारुले भनिन्, ‘ग्रामथान गाउँपालिकाको १३ वटा सहकारीलाई उपलब्ध हुने कोटाको मल उपलब्ध गराउन ढिला भइसकेको कारण हतार गर्नुपर्ने अवस्था आएको छ।’ 

अध्यक्षले सङ्घीय सरकारले बनाएको कानुनलाई नै लत्त्याएर सदस्य र सदस्य सचिवलाई नै हटाएर किसानलाई अप्ठ्यारो पार्ने काम गरेको उपाध्यक्ष थारुको भनाई छ।  

गाउँपालिकामा ३६ हजार २४ जनसङ्ख्या रहेकोमा करिब ८० प्रतिशत कृषियोग्य जमिनमा खेती गर्ने किसानहरू रहेका छन्। यी किसानलाई १३ वटा सहकारी मार्फत रासायनिक मल खाद बिक्री वितरण गर्ने गरी ३ हजार ८ सय बोरा रासायनिक मल यो चरणमा वितरण गर्ने गरीको कोटा आएको छ। त्यही कोटाको मल यो लर्टमा वितरण गर्न नसके अर्को चरणमा रासायनिक मल नै नपाउने चिन्तामा वडा अध्यक्ष र उपाध्यक्ष छन्। 

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ को दफा १० मा स्थानीय समितिको व्यवस्था छ। सो व्यवस्थाको उपदफा (१) नेपाल सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने मलको स्थानीय तहमा आपूर्ति तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन देहाय बमोजिमको स्थानीय तह मल वितरण व्यवस्थापन समिति रहनेछ भनिएको छ। 

(क) नगरपालिका वा गाउँपालिकाको उपप्रमुख/उपाध्यक्ष – संयोजक, (ख) प्रमुख प्रशासकीय अधिकृत – सदस्य, (ग) स्थानीय तहको कृषि शाखा प्रमुख – सदस्य सचिव रहने व्यवस्था रहेको छ। 

१० (२) स्थानीय समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा आवश्यकताअनुसार बस्ने भनिएको छ। त्यस्तै  १० (३) मा समितिको सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी उपस्थित भएमा बैठक वैधानिक हुने व्यवस्था रहेको छ। 

लामो समयदेखि किसानले मल खाद नपाएर भौँतारिएको अवस्थामा पालिका अध्यक्षको सानो त्रुटिले किसानलाई ठुलो समस्या सिर्जना भएको भन्दै वडा अध्यक्षहरूले तत्काल निर्णय सच्याउन माग गरेका छन्। वडा नम्बर ५ का वडा अध्यक्ष भेष नारायण चौधरीले तत्काल पालिकाका अध्यक्षले निर्णय नसच्याए किसानहरू आन्दोलित हुनु पर्ने अवस्था आएको बताए।

‘किसानहरू मल खाद नपाएर भौँतारिनु परेको छ,’ उनले भने, ‘यस्तो अवस्था किसानले सहेर बस्न सक्दैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad