कोसी प्रदेशसभाका सदस्य विनोद राईले भाषा विधेयकमा बान्तवा भाषालाई बेवास्ता गरिए सदन बहिष्कार गर्न सक्ने चेतावनी दिएका छन्।
यो भाषालाई पनि प्रदेश सरकारले मान्यता दिनुपर्ने जिकिर उनले गरेका छन्।
‘भाषा भनेको ज्ञान पनि हो, सम्पत्ति पनि हो। यसलाई राज्यले बेवास्ता गरिरह्यो भने हामी संशोधन हालेर यो विषय सदनमै उठाउनेछौँ’, नेपालखबरसँग उनले भने, ‘नभए बहिष्कार नै गर्न सक्छौँ।’
प्रदेशमा प्रदेशकै नामकरणदेखि भाषा नीतिसम्मका विषय अझै विवादित रहेको राईको भनाइ छ।
अर्थ समितिको सभापतिसमेत रहेका भोजपुरबाट निर्वाचित सांसद राईले स्थानीय भाषाहरूको संरक्षण आफ्नो प्राथमिकतामा रहेको बताए।
उनले भने, ‘मेरो गाउँमा बान्तवा भाषा ब्राह्मण, क्षेत्री सबैले बोल्छन्। यस्तो भाषा एकताको आधार हो, यसलाई बेवास्ता गर्न मिल्दैन।’
कामकाजी भाषा मैथिली र लिम्बूलाई बनाउने विधेयककाे मस्यौदा प्रदेशसभामा छलफलपछि संशोधनका लागि ७२ घण्टाकाे समय दिइएकाे छ।
संशोधन हाल्न प्रदेशका सांसदहरूले गृहकार्य गरिरहेका छन्।
Shares

प्रतिक्रिया