कोसी प्रदेश सरकारले साना तथा मझौला व्यवसाय प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय परियोजना’ सुरु गरेको छ।
परियोजनाबाट प्रदेशमा ३ हजारभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ अर्ब बराबरको कर्जा सुरक्षा गरिनेछ भने २८ करोडको च्यालेञ्ज फन्ड स्थापना गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा लगानी गरिनेछ।
यसमार्फत बिना धितो ३० लाखदेखि ३ करोडसम्मको कर्जा उपलब्ध गराइने र त्यसका लागि बैंक छनोट प्रक्रिया अघि बढाइएको प्रदेश सरकारले जनाएको छ।
व्यवसाय विकास प्रमुख विष्णु काफ्लेले परियोजनालाई पहिलो चरणमा चार वर्ष सञ्चालन गर्ने र दीर्घकालीन रूपमा १० वर्षसम्म निरन्तरता दिने योजना रहेको जानकारी दिए।
टिम लिडर अरुण राणाका अनुसार, परियोजनाले नयाँ उद्यम सुरु गर्न चाहने तथा सञ्चालनमै रहेका उद्यमीलाई पनि प्रवर्द्धन गर्नेछ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले यो परियोजनाले कोसी प्रदेशलाई आर्थिक रूपमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बजार प्रवर्द्धनदेखि नयाँ उद्योग स्थापना गर्ने वातावरण निर्माणमा परियोजनाले योगदान पुर्याउने बताए।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उदय परियोजनालाई नमुनाका रूपमा सफल बनाएर देशव्यापी उदाहरणका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले परियोजना प्रदेशको आर्थिक समृद्धि र विकासका लागि कोसेढुङ्गा सावित हुने बताए।
Shares

प्रतिक्रिया