कोशी


मन्त्रीले सचिवको चाबी खोसेको विरोधमा कोसीका कर्मचारी एकजुट

मन्त्रीले सचिवको चाबी खोसेको विरोधमा कोसीका कर्मचारी एकजुट

नेपालखबर
भदौ १८, २०८२ बुधबार १२:१४, विराटनगर

कोसी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा उत्पन्न भएको विवादप्रति कर्मचारी ट्रेड युनियनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। 

गत सोमबार मन्त्रालयका सचिव शरणकुमार पाण्डेको गाडीको चाबी मन्त्रालयकै मन्त्री खगेन्द्र सिंह हाङ्गामले चालकमार्फत खोसेको घटनाले कर्मचारी युनियनलाई चकित पारेको उल्लेख गरिएको छ। यस घटनालाई सरकारले प्रशासनिक पदाधिकारीको स्वाभिमानमाथि गम्भीर प्रहार मात्र नभइ कर्मचारीको मनोबल गिराउने कार्यका रूपमा लिएको युनियनहरूको ठहर छ।

बुधबार जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारका मन्त्रीहरूबाट सरकारी कामकाज सञ्चालनमा तोकिएका पदाधिकारीहरूलाई अपमानजनक व्यवहार गर्नु, कार्यक्षमता कमजोर बनाउने वातावरण सिर्जना गर्नु र कर्मचारीमाथि आक्रमण गर्नेजस्ता क्रियाकलाप कतैबाट स्वीकार्य हुँदैन।’

युनियनहरूले यस्तो व्यवहारले कर्मचारीमा असुरक्षा बढ्ने, सरकारी काम अवरुद्ध हुने र सेवाग्राही प्रभावित हुने चेतावनी दिएका छन्। साथै, घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै विज्ञप्तिमा गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रशासन सञ्चालनमा शिष्टाचार र विश्वासको वातावरण खलबलिएको छ। यसले दीर्घकालीन रूपमा प्रदेश सरकारकै कार्यसम्पादन कमजोर बनाउने खतरा रहेको छ।’

छ वटा ट्रेड युनियनहरूले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा कर्मचारीहरूसँग सम्मानजनक व्यवहार गर्न, कार्यस्थलमा सहज वातावरण बनाउन र सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकोले पछिल्ला गतिविधिले राम्रो सन्देश नदिएको बताएका छन्। 

संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नेमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल लगायतका कर्मचारी ट्रेड युनियनहरू रहेका छन्। 

उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले कर्मचारीहरूलाई धम्क्याउने, तर्साउने, दुख दिने जस्ता कार्य गरेको समेत कर्मचारीहरूको भनाइ छ। मन्त्री हाङ्गामले सचिव पाण्डे चढेको गाडी मुख्यमन्त्री कार्यालयबाट नै फिर्ता बोलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad