कोशी


‘खान सर’ले उजुरी दिएका भारतीय नागरिक प्रिन्स विराटनगरमा मृत फेला, घटना रहस्यमय

‘खान सर’ले उजुरी दिएका भारतीय नागरिक प्रिन्स विराटनगरमा मृत फेला, घटना रहस्यमय

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १७:४८, विराटनगर

भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा मृत फेला परेका छन्। घटनासँग जोडिएका चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

मृत भेटिएका व्यक्ति भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स आनन्द (यादव) रहेको प्रहरीले जनाएको छ। यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए।

प्रहरीका अनुसार यादव विराटनगर महानगरपालिका-१० मा रहेको शुभ होटलमा बस्दै आएका थिए। होटलमा बसिरहेका बेला शनिबार राति बिरामी परेका थिए। उपचारका लागि न्युरो अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले यादवको मृत्युबारे अनुसन्धान थालेको जनाएको छ।

भारतको पटना, बिहारस्थित ज्ञान विन्दु (जिएस एकेडेमी) र खान सर एकेडेमी इन्स्टिच्युटबीच विवाद भएको थियो। दुई संस्थाबीच विवाद हुँदा ज्ञान विन्दुका सञ्चालक र विद्यार्थीहरूले खान सर एकेडेमीमा ढुंगामुढा गरेका थिए।

सोही घटनालाई लिएर खान सरले रोशन आनन्द र उनका भाइ प्रिन्स आनन्दविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि रोशन आनन्दका भाइ प्रिन्स आनन्द साथीहरूसँग घुम्नका लागि नेपाल आएको प्रहरीले जनाएको छ।

उनी गत २०८३ जेठ २० गते विराटनगरस्थित बसपार्क अगाडि रहेको मेट्रोसिटी होटलमा बसेका थिए। त्यसको दुई दिनपछि उनीहरू विराटनगरकै शुभ होटलको कोठा नम्बर १०२ मा सरेर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी कटुवालले जानकारी दिए।

होटलमा बस्ने क्रममा प्रिन्स आनन्द अचानक बिरामी परेपछि नै अस्पतालको गार्ड र उनका साथीहरूले उनलाई न्युरो अस्पताल पुर्‍याएका थिए। उनलाई अस्पताल पुर्‍याउने साथीहरूमा भारतको सहर्सा बस्ने २५ वर्षीय अंकितकुमार यादव, सुपौल बस्ने २७ वर्षीय रोशन यादव, २१ वर्षीय लल्टु यादव र ३० वर्षीय जयराम यादव थिए। अस्पताल पुर्‍याएर उपचार सुरु गरिएकै क्रममा राति ११ः१० बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले सोधपुछका लागि उनका साथीहरूलाई नियन्त्रणमा लिएको छ। उक्त घटना हुँदा प्रिन्स आनन्दका नाता पर्ने भाइ, सप्तरी जिल्लाको हनुमान नगर ना.पा. १४ बस्ने ३० वर्षीय तीर्थकुमार यादव पनि उनीहरूसँगै रहेको र उनले नै प्रिन्सलाई अस्पताल पुर्‍याउन सहयोग गरेको खुलेको एसपी कटुवालले बताए। उनको मृत्युको कारण बारे प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad