कोशी


रास्वपा कोसी प्रदेश अधिवेशन: सभापतिमा चार जनाबीच प्रतिस्पर्धा, उम्मेदवारी शुल्कलाई लिएर असन्तुष्टि

रास्वपा कोसी प्रदेश अधिवेशन: सभापतिमा चार जनाबीच प्रतिस्पर्धा, उम्मेदवारी शुल्कलाई लिएर असन्तुष्टि

नेपालखबर
जेठ २७, २०८३ बुधबार २०:४२, ​विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बन्द सत्र पछि मतदानको प्रक्रिया अघि बढेको छ। ६१ सदस्यीय नयाँ प्रदेश समिति चयनका लागि पार्टीको कानुन विभागअन्तर्गतको निर्वाचन समितिले मतदानको अन्तिम तयारी गरेको हाे।

​नेतृत्व चयनको  दौडमा सभापति पदका लागि चार जना उम्मेदवारहरू मैदानमा उत्रिएका छन्। मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल, झापाका चन्द्रबहादुर गौली र सुनसरीकी वर्तमान कार्यवाहक सभापति गोमा तामाङबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।

यसअघि आकांक्षी देखिएका पिताम्बर तिम्सिना, पारशमणि गेलाल र नारायणप्रसाद घिमिरेले भने मनोनयन दर्ता गरेर पनि पछि फिर्ता लिएका छन्।

​मोरङको विराटचोकस्थित जेसीज भवनमा भइरहेको अधिवेशनमा केन्द्रको राजनीतिक प्रभाव चर्चाको विषय बनेको छ। अधिवेशनमा सहभागी केही प्रतिनिधिहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको पक्षबाट चन्द्रबहादुर राईलाई सभापति बनाउन दबाबसहितको  निर्देशन आइरहेको छ।

कोशी प्रदेशमा उदाउँदै गरेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको प्रभावलाई रोक्ने रणनीतिका रूपमा बालेन समूहले राईलाई अघि सारेको बुझिएको छ। यसै सिलसिलामा बालेन निकट मानिने रास्वपाका महामन्त्री भुपदेव शाह मंगलबारदेखि नै अधिवेशन स्थलमा सक्रिय रूपमा खटिएका छन्।

​यसैबीच, निर्वाचन समितिले 'प्रदेश अधिवेशन निर्वाचन कार्यविधि २०८३' बमोजिम तोकेको उम्मेदवारी शुल्क निकै महँगो भएको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।

निर्वाचन समितिले सभापति पदका लागि २१ हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १७ हजार ५ सय रुपैयाँ तथा सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। शुल्क अत्यधिक भएका कारण सक्षम र इच्छुक कतिपय प्रतिनिधिहरू उम्मेदवार बन्नबाटै वञ्चित हुनुपरेको गुनासो समेत बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad