विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापन इतर पक्षको कोसी प्रदेशस्तरीय भेलामा नेताहरूले पार्टीको वर्तमान नेतृत्वप्रति कडा आक्रोश पोखेका छन्।
कार्यक्रममा बोल्दै नेता रामहरि खतिवडाले संस्थापक पक्षका नाममा पार्टीभित्र एकलौटी र निषेधको राजनीति गरिए त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने चेतावनी दिए।
अर्का नेता गोविन्द शाहले नेतृत्वलाई नसच्चिए आन्दोलन वडा तहसम्म लैजाने भन्दै एक महिनाको अल्टिमेटम दिएका छन्। त्यसै गरी नेता मीन विश्वकर्मा र एनपी साउदले पछिल्लो समय संसद्को गतिरोध, राष्ट्रियतामाथिको चुनौती र राजनीतिक समीकरणमा आएका फेरबदलका कारण कांग्रेस रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे।
उनीहरूले विशेष महाधिवेशनपछिका कतिपय निर्णय र जेन्जी आन्दोलनको प्रभावले संगठनको पुरानो साख कमजोर बन्दै गएकाले पार्टीलाई पुनर्जीवन दिन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘जेन्जी आन्दोलन पहिला सबैभन्दा ठूलो नेपाली कांग्रेस पार्टी जेन्जी आन्दोलन, विशेष महाधिवेशन र चुनावपछि अहिले कहाँ पुगेको छ, नेतृत्वले समीक्षा गर्नु पर्दैन?’
भेलालाई सम्बोधन गर्ने क्रममा नेता मोहन बस्नेतले वर्तमान नेतृत्वकै कमजोरीका कारण कांग्रेस इतिहासकै सबैभन्दा कमजोर मोडमा आइपुगेको आरोप लगाए। अर्का नेता डा. मीनेन्द्र रिजालले भने केवल उत्तेजना फैलाएर मात्रै निकास ननिस्कने भन्दै ८० वर्ष लामो गौरवशाली इतिहास बोकेको पार्टीलाई जोगाउन आगामी महाधिवेशनमा जानको लागिनै एकताको सन्देश लिएर जानुपर्ने आवश्यकता औँल्याए।
सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्य बनाउने नाममा आफ्नालाई भित्र्याउने र पुरानालाई पाखा लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा भेलाका सहभागीहरूले एकमुष्ट आवाज उठाएका छन्। विराटनगरमा भइरहेको भेलाले कांग्रेस कमजोर भएको कारण लोकतन्त्र र राष्ट्रियता नै कमजोर अवस्थामा पुगेको समेत बताएका छन्।
नेताहरूले वर्तमान संस्थापन पक्ष र विशेष गरी पार्टी नेतृत्वमाथि तीव्र असन्तुष्टि पोखेका छन्। वक्ताहरूले पार्टीमा रगतपसिना बगाएका निष्ठावान् कार्यकर्ताको क्रियाशील सदस्यता खारेज गर्ने वा निष्क्रिय बनाउने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले निरङ्कुश राणा र राजाको शासनकालमा समेत दलका सिद्धान्तनिष्ठ कार्यकर्ताको जग हल्लाउने आँट कसैले नगरेको स्मरण गराउँदै अहिलेको नेतृत्वमा त्यस्तो गलत आँटहरू देखिएको भन्दै नेतृत्वमाथि प्रश्न गरे।
त्यसै गरी, नेतृ एवं पूर्व सांसद सरिता प्रसाईँले पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई सकारात्मकरूपमा लिनुको साटो नेतृत्व तहबाटै धम्की आउनु र भेलाहरू रोक्न खोज्नु दुःखद भएको टिप्पणी गरिन्। उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गर्दै विद्यार्थी राजनीतिदेखि सँगै सहकार्य गरेका साथीहरू अहिले नेतृत्वमा पुग्दा कार्यकर्ताको भावना बुझ्न नसकेको गुनासो गरिन्।
उनले भनिन्, ‘कांग्रेस कमजोर हुँदा मुलुकको संविधान, व्यवस्था र लोकतन्त्रनै खतरामा पर्ने गरेको छ। कार्यकर्तालाई चिढ्याएर आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचन जित्न असम्भव छैन।’ कोसी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राईको अध्यक्षतामा भएको भेलालाई अर्का महामन्त्री उमेश थापाले स्वागत गरेका थिए।
भेलामा कांग्रेस नेता डा. शेखर कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायतका नेताहरू सहभागी भएका छन्। नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण र कार्यकर्ताको भूमिका सम्बन्धी विषयमा धारणा राखिरहेका छन्।
Shares

प्रतिक्रिया