कोशी


विराटनगरमा सीप उत्सव हुँदै

विराटनगरमा सीप उत्सव हुँदै

नेपालखबर
जेठ २९, २०८३ शुक्रबार १४:१४, विराटनगर

विराटनगरमा उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तर कम गर्ने उद्देश्यले आगामी जेठ ३१ गते 'सीप उत्सव २०८३' आयोजना हुने भएको छ।

उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको यस उत्सवले बजारमा सीप विकासका विविध पक्षलाई उजागर गर्दै दक्ष जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सघाउने विश्वास लिइएको छ।

स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर र हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा यो कार्यक्रम हुन लागेको हो।

उद्योग संगठन मोरङको सचिवालयमा जेठ ३१ गते आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने यस उत्सवमा विभिन्न रोजगारमूलक र सीपमूलक गतिविधिहरू समावेश गरिएका छन्।

​उत्सव अवधिभर सूचना प्रविधि, होटल व्यवस्थापन तथा अटोमोबाइल विधामा अन्तरशिक्षालय सीप प्रतियोगिता सञ्चालन गरिनेछ भने सोही दिन अपराह्न अन्तिम चरणको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिने प्रतियोगीहरूलाई पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका अतिरिक्त कार्यक्रममा माटाको भाँडावर्तन, प्लम्बिङ, औद्योगिक अटोमेसन, सीसीटीभी, थ्रिडी प्रिन्टिङ र ग्रिन स्किल जस्ता समसामयिक विधामा प्रत्यक्ष तालिमहरू सञ्चालन गरिनेछन्।

साथै, मेलामा सहभागी हुन आउने विद्यार्थी तथा युवाहरूलाई लक्षित गरी करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्रहरू समेत आयोजना गरिने संगठनका कार्यसमिति सदस्य एवं मानव संशाधन विकास समितिका संयोजक दीपक अग्रवालले जानकारी दिए। माेरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यस उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थीहरूबीचको आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनेछ।

उनले यस अभियानले उद्योगहरूको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न, रोजगारीका अवसरहरू सुनिश्चित गर्न र स्वदेशमै पर्याप्त रोजगारीका सम्भावनाहरू रहेको सकारात्मक सन्देश प्रवाह गर्ने बताए। स्वदेशमा उपलब्ध सीप विकासका अवसरहरूको प्रचार गर्दै प्राविधिक शिक्षा तथा उद्यमशीलता कार्यक्रमको महत्त्वबारे जनचेतना जगाउन यो उत्सव कोशेढुंगे साबित हुने अध्यक्ष राठीको भनाइ छ।

उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन र अटोमोबाइल इन्जिनियरिङ क्षेत्रमा अध्ययनरत विद्यार्थीहरू, विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, प्राविधिक शिक्षालयहरूका साथै आतिथ्यता र प्रविधि क्षेत्रसँग सम्बन्धित प्रदेश तथा जिल्लास्तरका विभिन्न संघसंस्थाहरूको व्यापक सहभागिता रहने संयोजक अग्रवालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad