कोशी


जोखिममा महिला: सामाजिक सञ्जालबाट प्रलोभन देखाएर कटाइन्छ सीमा

जोखिममा महिला: सामाजिक सञ्जालबाट प्रलोभन देखाएर कटाइन्छ सीमा

सुमन सुस्केरा
भदौ २०, २०८२ शुक्रबार १७:१७, विराटनगर

घटना १- सोलुखुम्बुको चिसो बिहानी। १८ वर्षीय तिब्री (काल्पनिक नाम) आफ्नो फोनमा आएको मेसेज पढ्दै थिइन्। ‘कामको अफर छ, वीरगन्जमा। कपडा प्याकिङ, राम्रो तलब।’ त्यो मेसेज पठाउने मान्छे खुद्रुङ (काल्पनिक नाम) थिए, जससँग उनी फेसबुकमा चिनजान भएकी थिइन्। सुरुमा सामान्य कुराकानी हुन्थ्यो, ‘के काम गर्छ्यौ?’, ‘घरमा को–को हुनुहुन्छ?’ अनि बिस्तारै ‘घरमा बस्नुभन्दा पैसा आउने काम गर्नु राम्रो, जागिर गर्नु पर्छ’ भन्ने सल्लाह दिन्छन्।

खुद्रुङले आफ्नो बुबासँग पनि कुरा गराउँछन्। साइनो गाँस्छन्। तिब्रीले सबै कुरा परिवारलाई भनिन्, बुबा अलि हिचकिचाए, तर खुद्रुङको मीठो बोलीमा विश्वास गरे।

२०८२ वैशाख १५, बिहानै तिब्री घर छाडेर मिर्चैयातर्फ लागिन्। त्यहाँ खुद्रूङले स्वागत गर्न पुगेका थिए। खुद्रुङले गाडी चढाए, वीरगन्ज पुर्‍याए। एक रात होटलमा राखेपछि भने, ‘फ्याक्ट्री यहाँबाट दुई किलोमिटर टाढा छ, ई–रिक्सा चढौँ।’ दुवै जना रिक्सा चढेर अघि बढ्छन्। अलिक अघि पुगेपछि उनले तिमि जाँदै गर म आउँछ भनेर खुद्रुङले तिब्रीलाई भन्छन्। पर्साको इनर्वा सीमा नाकामा तिब्री चढेको अटो रोकिन्छ। आफन्त नेपालका महिला उद्धारकर्ताले सोध्छन्, ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ?’

तिब्री सुरुमा खुद्रुङले सिकाएझैँ झुट बोल्छिन् ‘म मामाको घर जाँदै छु।’

तर जब उनीहरू भन्छन्, ‘यो भारतको सीमा हो’, तिब्रीको अनुहार फिक्का हुन्छ।

‘मलाई वीरगन्जमा काम गर्ने भनेर ल्याएको हो, भारत होइन,’ त्यसपछि तिब्रीले आफ्नो साँचो कुरा भन्न थाल्छिन्। त्यो बेलासम्म त्यहाँ खुद्रुङ हुँदैन। कामको सिलसिलामा वीरगन्ज बोलाएर भारतीय बजारसम्म लिएर जाँदै गरेको अवस्थामा उनको उद्धार हुन्छ। त्यसपछि यसरी मानव बेचबिखन तथा ओसारपसार गर्ने व्यक्तिको खोजी र पहिचान सुरु हुन्छ।  यो घटनामा प्रहरीले महिला बेचबिखन तथा ओसारपसार विरुद्ध ती व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ। 

घटना २- दार्चुलाको पाखामा बस्ने २५ वर्षीय स्यार्चो (काल्पनिक नाम) सिपालु प्रशिक्षक हुन्। तीन वर्षदेखि सिलाइकटाई सिकाएर गाउँका महिलाहरूको हातमा सीप पुर्‍याइरहेकी उनी, एक दिन फेसबुकमा आएको म्यासेजमा पुग्छिन्। सिलाई कटाइमा भविष्य देखेकी उनको लागि गाउँघरमै आम्दानीको स्रोत थियो। तर नेपालको कमाई नै कम हुने भएपछि वीरगन्जमा ४५ दिनको तालिम, दैनिक २ हजार पारिश्रमिक पाउने लोभ उनलाई देखाइन्छ। 

मुण्ड (काल्पनिक नाम) नाम गरेको मान्छेले पठाएको मेसेजमा उनी निक्कै उत्साहित हुन्छिन्। स्यार्चोले प्रस्ताव सहजै स्विकार्छिन्। अघिल्ला जिल्लामा तालिम दिँदा राम्रो अनुभव भइसकेकोले पनि दैनिक २ हजार उनले राम्रो आम्दानी भएको ठानिन्।  मुण्डको निरन्तर सम्पर्क पछि स्यार्चो २०८१ माघ १३, दिउँसो १ बजे, वीरगन्ज पुगिन्। मुण्डले उनलाई तालिम गाउँभित्र छ भन्दै अटोमा बसाउँछन्।

स्यार्चोलाई भित्री बाटो हुँदै अटोमा बसालेर वैकल्पिकबाट हुँदै भारतको पटना बोध गया पुर्‍याइन्छ। त्यहाँ पुग्दासम्म पनि उनले कामको सिलसिलामा नै यहाँ ल्याएको स्यार्चो ठान्छिन्। त्यहाँ पुगेपछि एउटा होस्टेलमा लगेर मोबाइल खोसियो। दिनभर अज्ञात ‘सेसन’मा राख्ने, फरक–फरक मानिसहरूसँग कुरा गराउने। ‘तालिम’ होइन, त्यहाँ के भइरहेको छ उनलाई थाहा थिएन।

दिनमा ५–१० मिनेट मात्र मोबाइल प्रयोग गर्न पाउने बेला उनले आफ्नो दाइलाई लाइभ लोकेसन पठाइन्। दार्चुलामा परिवार चिन्तित भयो, उनका दाइ वीरगन्ज आइ आफन्त नेपालको सम्पर्कमा पुग्छन्। केही दिनपछि, भारतीय प्रहरी र स्थानीय संस्थाको सहयोगमा स्यार्चोको उद्धार हुन्छ। उनी अहिले घर फर्किएकी छिन् तर उनले अहिलेसम्म न्याय पाएकी छैनन्। उनलाई भारतीय बजारसम्म लिएर जाने दलाल फरार रहेको छ। पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएर कानुनी प्रक्रिया भने अघि बढाइएको संस्थाले जनाएको छ।

यी दुई कथा फरक पात्र छन्, फरक परिस्थिति, तर एउटै अभ्यास सामाजिक सञ्जालबाट जितेको विश्वास नै हो। त्यही विश्वासको आधारमा प्रलोभनमा पारेर किशोरी तथा महिलाहरू जोखिममा देखिएका छन्। फेसबुकमै मित्रता, आफ्नो जीवनमा चासो देखाएर भरोसा जित्ने, उच्च तलब तथा तालिमको सपना देखाउने र  वैकल्पिक बाटो हुँदै सीमा पार पुर्‍याउने कार्यले अहिले पनि महिलाहरू सुरक्षित छैनन् भन्ने  स्पष्ट पारेको छ।  

नेपाल सरकारले विशेष कानुनका रूपमा ल्याएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को मूल उद्देश्य मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण गर्नु भन्ने नै हो। सङ्घीय कानुन भएकोले  प्रदेश र स्थानीय तहले यसलाई महत्त्व दिएको देखिँदैन। नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट, क्षेत्रगत नीति, कानुनहरूले यसलाई छुन खोजेको भए पनि प्रदेश र स्थानीय तहमा यो विषयहरू उठान भएका छैनन्।

सङ्घीय कानुनले व्यवस्था गरे अनुसार मुलुकी अपराध संहिता २०७४, मुलुकी अपराध कार्यविधि संहिता २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१, बालश्रम (निषेध र नियमित) ऐन २०५६, श्रम ऐन, २०७४, अपराध पीडित संरक्षण ऐन, २०७५ आदिलाई मानव बेचबिखन तथा ओसारपसारसँगै जोडेर हेरिने कानुनी व्यवस्था हुन्। 

सङ्घीय सरकारमा यतिका धेरै कानुन बनेको भए पनि प्रदेश र स्थानीय तहले यसलाई प्राथमिकतामा राखेको पाइँदैन। माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले सरकारको उदासीनताको कारण धेरै समस्याहरू भए पनि कानुन कार्यान्वयन गर्ने र स्थानीय तहहरूले प्राथमिकतामा नराखेको बताउँछन्। उद्धारमा अहिले पनि समस्या रहेको छ, उद्धार गर्ने संयन्त्र बनाउने बारेमा प्रदेश र स्थानीय तहले काम गर्न सक्ने भए पनि त्यो विषयलाई महत्त्व नदिएको यो क्षेत्रमा काम गर्ने निकायको बुझाई छ।

‘स्थानीय तहमा कति बाहिरिए, उनीहरूको अवस्था के हो भन्ने बारेमा तथ्याङ्क राख्ने व्यवस्था गर्न सकिन्छ,’ पोखरेल भन्छन्, ‘उद्धार भएका व्यक्तिहरूको हकमा  सुरक्षित आवास गृह समेत स्थानीय र प्रदेशले गर्न सक्छन्।’ मानव बेचबिखन  तथा ओसारपसार सम्बन्धी मुद्दामा लड्न अहिले पनि पीडितलाई सहज छैन। मुद्दा लड्ने क्रममा अझै पनि संस्थाले नै खर्च गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ। 

माइती नेपाल विराटनगरले मात्रै एक वर्षमा २१८ जनालाई जोखिममा रहेका २१८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ। सीमा निगरानी गर्दै आएको साना हातहरू संस्थाले आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्ममा २७५ जनालाई फिर्ता गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। गत वर्ष यो संस्थाले १९० जनालाई फिर्ता गरेको जनाएको थियो।  

गत आर्थिक वर्ष २०८१।०८२ मा आफन्त नेपाल, शाखा कार्यालय पर्साले मात्र नेपाल प्रहरीको सहयोगमा ५ वटा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेको छ। यसै अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका २११ जना महिला, बालबालिका तथा किशोरीहरूलाई सीमा क्षेत्र तथा भारतका विभिन्न सहरहरूबाट उद्धार गरी स्वदेश फर्काइएको जनाएको छ।

पोखरेल भन्छन्, ‘उद्धार भएका व्यक्तिहरूको हकमा  सुरक्षित आवास गृह समेत स्थानीय र प्रदेशले गर्न सक्छन्।’ मानव बेचबिखन  तथा ओसारपसार सम्बन्धी मुद्दामा लड्न अहिले पनि पीडितलाई सहज छैन। मुद्दा लड्ने क्रममा अझै पनि संस्थाले नै खर्च गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ।

माइती नेपाल विराटनगरले मात्रै एक वर्षमा २१८ जनालाई जोखिममा रहेका २१८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ। सीमा निगरानी गर्दै आएको साना हातहरू संस्थाले आर्थिक वर्ष २०८१।०८२ को असार मसान्तसम्ममा २७५ जनालाई फिर्ता गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। गत वर्ष यो संस्थाले १९० जनालाई फिर्ता गरेको जनाएको थियो।  

गत आर्थिक वर्ष २०८१।०८२ मा आफन्त नेपाल, शाखा कार्यालय पर्साले मात्र नेपाल प्रहरीको सहयोगमा ५ वटा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा जिल्ला अदालत पर्सामा दायर गरेको छ। यसै अवधिमा बेचबिखनको उच्च जोखिममा रहेका २११ जना महिला, बालबालिका तथा किशोरीहरूलाई सीमा क्षेत्र तथा भारतका विभिन्न सहरहरूबाट उद्धार गरी स्वदेश फर्काइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad