जेनजी आन्दोलनको क्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लामो समयसम्म सम्पर्कविहीन रहे। उनी कहाँ थिए कसैलाई पनि थाहा थिएन। उनले लामो समयसम्म मोबाइल पनि स्विच अफ नै गरे।
भदौ २४ गते १२ बजेसम्म सम्पर्कमा रहेका मुख्यमन्त्री एकाएक सम्पर्कमा आएनन्। कोसी प्रदेशमा के कसो भएको छ भन्ने बारेमा उनी जानकार नै थिए। त्यही दिन प्रदर्शनकारीले तोडफोड गर्दै घरमा आगो लगाइदिए। आगलागीका कारण घर पूर्ण रूपमा ध्वस्त भयो।
सुरक्षा घेराका बिचमा बसेका मुख्यमन्त्री कार्की झापा गौरादह नगरपालिका–३ डिपु चौकको निजी निवासमा आगो लगाएको खबरले निक्कै छट्पटिमा थिए। घरमा आगो लागिरहँदा घरभित्र उनकी आमा ९१ वर्षीय जानुकादेवी कार्की थिइन्।
‘आमा वृद्ध रहेका कारणले आगो लागेको बारेमा थाहा कमै पाउनु भयो, आन्दोलनकारीहरू घर भित्र पसेर आगो लगाउन थालेपछि परिवारका सदस्यहरू आत्तिए’ उनले भनेका छन्
आमालाई उद्धार गर्ने क्रममा भतिज मनोज, छोरी तारा, आफन्तजन र छिमेकीले ठूलो साहस देखाएको मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
मंगलबार कोसी प्रदेशका सचिवहरूसँग प्रदेश सरकारका जलेका संरचनाहरूको अनुगमन पछि संरचना सरसफाइ गर्दै काम सुरु गर्ने बारे उनी छलफलमा सहभागी भए।
मुख्यमन्त्री कार्कीले बुधबार आफ्नो बारेमा मार्मिक स्ट्याटस सार्वजनिक गरेका छन्। उनीहरूले जोखिम मोलेर घरभित्रबाट आमालाई बाहिर निकालेर सुरक्षित स्थानमा पुर्याएको आमालाई बचाउन सफल भएको मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन्।
मुख्यमन्त्री कार्कीले बुधवार सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै आमाको सुरक्षित उद्धारलाई सबैभन्दा ठूलो सान्त्वना भएको बताएका छन्।
‘आमा सुरक्षित हुनुहुन्छ, यो नै हाम्रो परिवारका लागि ठूलो राहत हो। घर गुमायौँ, तर आमाको माया, ममता र आशीर्वाद पाइरहने छौँ,’ उनले लेखेका छन्।
कार्कीले आगजनीलाई हृदय विदारक घटना भन्दै यसले आफ्नो देशभक्ति, जनपक्षधरता र भ्रष्टाचारमुक्त सुशासन सहितको देश निर्माण गर्ने सङ्कल्पमा कुनै असर नपर्ने स्पष्ट पारेका छन्। मुख्यमन्त्री कार्कीले यस घटनालाई अपराधिक क्रियाकलापले आफ्नो सङ्कल्पलाई कमजोर बनाउन नसक्ने भन्दै अझ सङ्गठित भएर राष्ट्र र जनताको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन्।
आगजनीमा उनका परिवार बस्ने घर मात्र नभई कैयौँ निजी सम्पत्तिसमेत पूर्ण रूपमा नष्ट भएको छ। कोसी प्रदेशका सयौँ संरचनाहरू जलेर खरानी भएको भन्दै उनले यसलाई व्यक्तिगत क्षतिको रूपमा मात्र नभई राष्ट्रको सम्पत्ति, राष्ट्रिय गरिमा र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको आक्रमणको प्रयासका रूपमा लिएको बताएका छन्।
‘देशलाई दशकौँ पछाडि धकेल्ने दुष्प्रयास गरिएको छ। तर हामी निराश छैनौँ। जलेर नष्ट भएका निजी तथा सार्वजनिक सम्पत्तिको पुनर्निर्माण गर्न नेकपा (एमाले) र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिसँग हातेमालो गर्दै अघि बढ्नेछौँ,’ उनले भनेका छन्।
मुख्यमन्त्री कार्कीले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गरेका छन्। साथै, शान्तिपूर्ण राजनीति र जनताको पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याएका छन्।
Shares

प्रतिक्रिया