कोशी


​निजी क्षेत्रलाई विश्वास गरेर मात्रै आर्थिक समृद्धि सम्भवः अर्थमन्त्री खनाल

​निजी क्षेत्रलाई विश्वास गरेर मात्रै आर्थिक समृद्धि सम्भवः अर्थमन्त्री खनाल

नेपालखबर
पुस ९, २०८२ बुधबार १६:४५, विराटनगर

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई शंकाको घेरामा राखेर नभई विश्वासमा लिएर मात्रै मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका छन्।

बुधबार विराटनगरमा ‘विराट एक्स्पो’को समुद्घाटन गर्दै उनले कर प्रशासनलाई प्रविधिमैत्री बनाउँदै संघीयतालाई तल्लो तहसम्म संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्री खनालले संघीयताको वास्तविक मर्म केन्द्रमा रहेको शक्ति र अधिकारलाई प्रदेश तथा स्थानीय तहसम्म हस्तान्तरण गर्नु रहेको उल्लेख गरे। विगतका राजनीतिक सरकारहरूले अधिकार दिन हिचकिचाएको टिप्पणी गर्दै उनले अब स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाइने स्पष्ट पारे।

‘मेयर र उपमेयरहरू कर्मचारी माग्न मन्त्रालय धाउनुपर्ने अवस्था संघीयताको मर्म विपरीत हो,’ उनले भने, ‘अब ७५३ वटै स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने गरी प्रशासनिक अधिकार हस्तान्तरणमा सरकार पछि हट्दैन।’

​निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकारले ‘पूर्ण लेखापरीक्षण’ (फुल अडिट) को नाममा व्यवसायीलाई त्रसित बनाउने कार्य बन्द गरेको जानकारी समेत जानकारी दिए। तथ्याङ्क विश्लेषण गर्दा पूर्ण अडिटबाट राजस्व वृद्धिभन्दा बिचौलिया मात्र मौलाएको पाइएकाले अब ‘जोखिममा आधारित परीक्षण’ प्रणाली लागू गरिएको उनको भनाइ थियो। 

अर्थमन्त्री खनालले आन्तरिक राजस्व विभागमा ‘बिजनेस प्रोसेस रिइन्जिनियरिङ’ भइरहेको र छिट्टै कर प्रशासन पूर्ण रूपमा अनलाइन र ‘फेसलेस’ (व्यक्ति उपस्थित हुनु नपर्ने) हुने बताए।

सुशासन र भ्रष्टाचार नियन्त्रण नै वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताउँदै अर्थमन्त्रीले भन्सार र राजस्व प्रशासनमा गरिएका सुधारले करदाताको समय र लागत घटाउने विश्वास व्यक्त गरे। उनले मतदाताहरूलाई भदौ २३ र २४ को जस्तो अस्थिरता दोहोरिने खालको सरकार नचुन्न र निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन समेत अपिल गरे।

निर्वाचन समयमै
आगामी निर्वाचनको मितिलाई लिएर भइरहेका भ्रम र आशंकालाई चिर्दै अर्थमन्त्री खनालले आगामी फागुन २१ गते तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने ठोकुवा गरे।

‘फागुन २१ को विकल्प छैन, यसमा कत्ति पनि शंका नगर्नुहोस्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायको सहयोग र आन्तरिक तयारीले पनि फागुनमै निर्वाचन हुने सुनिश्चित गरिसकेको छ।’

​उनले निर्वाचनलाई थप लोकतान्त्रिक बनाउन मतपत्रमा ‘नो भोट’ (कसैलाई पनि मतदान गर्दिनँ भन्ने विकल्प) को व्यवस्था गर्ने बारेमा कानुन बनाउने तयारी भइरहेको समेत खुलासा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad