कोशी


ओली र बालेनको सम्भावित प्रतिस्पर्धा :  झापामा प्रशासनको ‘हाइ अलर्ट’

ओली र बालेनको सम्भावित प्रतिस्पर्धा :  झापामा प्रशासनको ‘हाइ अलर्ट’

सुमन सुस्केरा
माघ ३, २०८२ शनिबार २०:३१, विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच झापा-५ मा चुनावी प्रतिस्पर्धा हुने चर्चा छ। 

दुई नेताबीच हुने चुनावी प्रतिस्पर्धाको चर्चाको बीच स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग आन्तरिक छलफल समेत गरेको छ। 

पछिल्लो समय बालेन शाहको टोलीले झापामा सक्रियता बढाएको र कार्यालयका लागि घरहरू समेत हेर्न थालेपछि सुरक्षा निकायले यस बारेमा चासो दिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आन्तरिक तयारी र समन्वयको कामहरू भइरहेको बताए।

झापा-५ मा एमाले अध्यक्ष ओलीको बलियो पकड रहे पनि बालेनको सम्भावित उम्मेदवारीले युवा मतदातामाझ उत्साह ल्याएको छ। तर, यही उत्साह मुठभेडमा परिणत हुन सक्ने सुरक्षा अधिकारीहरूको विश्लेषण छ। 

प्रशासनका अनुसार, बाहिरका जिल्लाहरू (मोरङ, सुनसरी) बाट ठूलो सङ्ख्यामा युवाहरू परिचालन हुन सक्ने र ‘जेनजी’ युवाहरूको आक्रामक उपस्थितिले शान्ति सुरक्षामा असर पर्न सक्ने प्रशासनको विश्लेषण छ।

बढ्दो चुनावी सरगर्मी र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै झापाका प्रमुख जिल्ला अधिकारीले माघ ४ गते सर्वदलीय बैठक आह्वान गरेका छन्। मुख्य निर्वाचन अधिकृतको समेत उपस्थिति रहने उक्त बैठकमा दलहरूले शान्ति सुरक्षा र शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन खेल्नु पर्ने भूमिकाको बारेमा जानकारी गराउने तयारी छ।

छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयन, सम्भावित मुठभेड रोक्न दलहरूको प्रतिबद्धता खोज्ने, उम्मेदवारहरूबिचको प्रतिस्पर्धालाई स्वस्थ बनाउन दलहरूलाई सचेत गराउने प्रशासनको तयारी छ। 

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्ने क्रममा सहभागी रास्वपा नेताहरूलाई प्रमुख जिल्ला अधिकारी गेलालले  सम्भावित चुनौतीको बारेमा जानकारी लिएका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टी झापाका अध्यक्ष प्रकाश पाठकले  प्रमुख जिल्ला अधिकारीले झापा-५ को बारेमा जिज्ञासाहरू राखेको बताए। उनले भने, ‘हामी नियमित छलफल मै छौँ, अहिले चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने बारेमा सामान्य छलफल भएको थियो।’

विशेष गरी युवा पुस्ताको सक्रियता बढेकाले दुवै पक्ष (विपक्षी र आफ्ना कार्यकर्ता) बीच द्वन्द्व हुन नदिन संयम अपनाउन प्रशासनले आग्रह गरेको छ। 

अझै टुंगिएन चुनावी कमान्ड सेन्टर
बालेनको चुनावी कमान्ड सेन्टर र बसोबासका लागि झापाको दमकमा उपयुक्त भवनको खोजी तीव्र पारिएको भए पनि अझै टुंङ्गो लाग्न नसकेको नेताहरूले बताएका छन्। 

आवास, चुनावी गतिविधि गर्ने कार्यालय र कार्यकर्ता बसोबासको लागि ३ वटा घर खोजेको धेरै दिन भइसकेको छ। अहिले बालेको सचिवालयको टिम नै आएर भवन खोज्ने, छलफलहरू तीव्र पारेको भए पनि त्यो अनुसारको भवन नपाएको बालेन रास्वपा निकट स्रोतले जनाएको छ।

बलेनलाई चुनाव हाँक्नको लागि तीन वटा सम्भावित भवनहरू खोजिएको भए पनि कुनैमा पनि कुरा फाइनल हुन सकेको छैन। दमकको क्याम्पस मोड र गोर्खा किचन आसपासका क्षेत्रमा भवनहरू हेरिएको र केही स्थानीयले निःशुल्क घर उपलब्ध गराउने प्रस्ताव समेत राखेका छन्। 

तर, सुरक्षा, पहुँच र व्यवस्थापकीय सहजताका कारण हालसम्म कुनै पनि भवनको टुङ्गो लाग्न नसकेको स्रोतले जनाएको छ। बालेनको टोलीका लागि ७-८ वटा घरहरू हेरिएको र तीमध्ये उपयुक्त ठाउँको छनोट बालेनकै टिम (निश्चल र नवीन) ले गर्ने बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad