निर्वाचन आचारसंहिता, २०८२ लागू रहेको अवस्थामा पूर्वाञ्चल विश्वविद्यालयले नियमविपरीत करार सेवामा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको आरोपमा प्रदेश निर्वाचन कार्यालय, कोसी प्रदेशमा उजुरी दर्ता भएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयले आचारसंहिता उल्लंघन गर्दै कर्मचारी छनोट प्रक्रिया जारी राखेको भन्दै ‘सचेत नागरिक समूह’ ले कानुनी कारबाहीको मागसहित उजुरी दर्ता गराएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयनमा रहेको समयमा विश्वविद्यालयले विभिन्न प्राविधिक पदका लागि माघ १० गते लिखित परीक्षा सञ्चालन गरेको थियो। हाल नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी पाएपछि उक्त कार्य आचारसंहिताविपरीत भएको भन्दै समूहले आपत्ति जनाएको छ।
उजुरीमा निर्वाचन आचारसंहिता २०८२ को दफा ७ र १० अनुसार निर्वाचन अवधिभर कुनै पनि नयाँ नियुक्ति, पदपूर्ति वा कर्मचारी छनोट गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।
विश्वविद्यालयले परीक्षा सञ्चालन गर्दा रोजगारीको आशा सिर्जना भई मतदाता प्रभावित पर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रश्न उठ्ने तथा सार्वजनिक संस्थाको तटस्थतामा असर पर्ने दाबी उजुरीमा गरिएको छ। सो समूहले कर्मचारी छनोट प्रक्रिया तत्काल रोक्न, सम्बन्धित पदाधिकारीसँग स्पष्टीकरण माग गर्न र आचारसंहिता उल्लंघनमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ। उजुरीसँगै सम्बन्धित प्रमाण र कागजातहरू समेत पेश गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
विश्वविद्यालयले कात्तिक २३ गते प्रकाशित विज्ञापनमार्फत स्टाफ नर्स १५ जना, हेल्थ असिस्टेन्ट २ जना, फार्मेसी २ जना, अप्टोमेट्री १ जना र एनेस्थेसिया १ जना गरी कुल २१ जना प्राविधिक कर्मचारी माग गरेको थियो।
निर्वाचन आचारसंहिता २०८२ को दफा ७ (च) तथा दफा १०(घ) र (ङ) मा सार्वजनिक निकाय तथा विश्वविद्यालयहरूले नयाँ पद सिर्जना गर्न, रिक्त पद पूर्ति गर्न तथा भत्ता वृद्धि लगायत कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।
कोसी प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले करार कर्मचारी नियुक्तिका हकमा निर्वाचन आयोगबाट स्वीकृति प्राप्त भएबाहेक कुनै पनि नियुक्ति गर्न नपाइने व्यवस्था रहेको बताए।
उनले भने, ‘प्रक्रिया पहिल्यै सुरु भएका नियुक्तिका हकमा परीक्षा लिन पाइए पनि नतिजा प्रकाशन गर्न नपाइने व्यवस्था छ। त्यसविपरीत काम भए आचारसंहिता उल्लंघन मानिन्छ र कारबाही हुन्छ।'
Shares

प्रतिक्रिया