सोमबार बिहान प्रदेश सभाको अर्थ समितिको बैठक बोलाइएको थियो। समसामयिक विषयको छलफल भनेर आयोजना गरिएको बैठक करिब ८ः३० बजेतिर सांसदहरू भेला हुनथाले पछि करिब ९ बजेदेखि सुरु भएको थियो।
सुरुमा सांसदहरू नै कम आएपछि बैठक कसरी अघि बढाउने भन्ने नै अन्योल देखियो। बैठकमा उपस्थित सांसदहरू बढ्दै गएपछि सभापति विनोद बान्तवाले बैठक सुरु गरे। अहिले सरकारको काम कारबाही, सरकारले सुशासन र बजेट कार्यान्वयनमा खेलेको भूमिकाका विषयहरू नै चर्चामा रहे।
प्रदेश सांसदहरू आफ्ना भनाइहरू राख्दै थिए। अहिले नागरिकले गरेका गुनासा, सरकारले बजेट कटौती गर्दा प्रदेश सांसदहरूले बेहोर्नु परेको आलोचना लगायतका विषयमा छलफल हुँदै थिए ।
कोसी प्रदेश सभाको अर्थ समितिको बैठकमा प्रदेश सरकारको कार्यशैली, सुशासनको अवस्था र बजेट कार्यान्वयनमा देखिएको बेथितिप्रति सांसदहरूले कडा आलोचना गरेका छन्। बैठकमा प्रदेश सरकारले अझै पूर्ण अधिकार नपाएको र सुशासन कायम गर्ने विषय चुनौतीपूर्ण बन्दै गएको भन्दै समितिले अब सरकारलाई स्पष्ट निर्देशन दिएर अगाडि बढ्ने विषयहरू सांसदहरूले राखेका थिए।
बैठकको सुरुमा अर्थ समितिका सदस्य तथा आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेप र स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू सहित समितिका सदस्य सचिव जीवन राजभण्डारीको सम्मान सहित बिदाइ गरिएको थियो।
छलफलका क्रममा विजय राई, रोहितबहादुर कार्की, सुनिता गुरुङ, डोल्पा तामाङहरूले आफ्ना कुराहरू राखिसकेका थिए। सांसद ज्ञानेन्द्र सुवेदीले सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय सुशासनको सट्टा कुशासन बढ्दै गएको र नागरिक स्तरमा सरकारप्रतिको विश्वास घट्दै गएको टिप्पणी गरे। उनले बजेट कटौती नगर्ने सरकारी प्रतिबद्धताका बाबजुद अहिले धमाधम बजेट काटिएको र कार्यान्वयनमा पारदर्शिता नदेखिएको बताए।
योजना कार्यान्वयनमा सांसद र सरकार दुवै असक्षम हुने अवस्था आएको उल्लेख गर्दै सुवेदीले अहिले बजेट परिचालनमा ठूलो आर्थिक चलखेल हुने गरेको र विशेष गरी सिँचाइका योजनाहरूमा त पैसाको लेनदेन बिना काम नै नहुने स्थिति रहेको गम्भीर आरोप लगाएका थिए।
सुवेदीले बैठकमा बोल्दै अर्थ समितिका सदस्य बाबुराम गौतम केही व्यक्तिहरू सहित बैठकमा प्रवेश गरे। उनी एउटा झोला भिरेका थिए, उनका पछि पछि दुई जना बाहिरकै व्यक्ति थिए। गौतमले प्रवेश गर्ने बित्तिकै भने, ‘एक जना उम्मेदवार पनि सँगै आउनु भएको छ, सभापतिज्यूलाई चिनाउनु पर्यो।’

गौतमले उनीसँगै आएका नेपाली कम्युनिस्ट पार्टीबाट मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका उपेन्द्र रायलाई लिएर त्यहाँ पुगेका थिए। उनी सँगै अर्का होम कार्की पनि थिए। त्यति कुराकानी हुँदा पनि सांसद ज्ञानेन्द्र सुवेदी आफ्ना कुराहरू राखी नै रहेका थिए। त्यसपछि उनीहरू त्यहाँबाट बाहिरिएका थिए। प्रदेश सांसद गौतम महिनौँ कोसी प्रदेश सभाको सभामुख भइसकेका व्यक्ति हुन्। यस्ता बैठक बसिरहेको बेलामा बाहिरबाट अनावश्यक व्यक्तिहरूलाई संसदीय समितिको बैठकमा प्रवेश नै नदिने परम्परा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
यो बैठक यतिमा मात्रै रोकिँदैन। बैठककै क्रममा एउटा रोचक दृश्य पनि देखियो। छलफल चलिरहेका बेला सांसदहरू विजय राई र रोहित बहादुर कार्की सहितका केही सांसदहरू बैठक स्थलमा नै हुँदैनन्। बैठक अन्तिम चरणमा रहेकोले पनि सबै आएपछि निर्णय सुनाउने विषयमा सभापति बान्तवा देखिन्छन्। केही सांसदहरू नदेखेपछि समितिका सभापति बैठक अघि बढाउन अलमलिन्छन्।
बैठकको बिचैमा उनी भन्छन्, ‘माननीयहरू कता गए, उनीहरू हराए, अब खोज्न जानुपर्यो’ भन्दै बैठक स्थलबाट बाहिरिन्छन्। बाहिर एक पटक घुम्छन्, नदेखेपछि फर्किँदै भन्छन्, ‘उहाँहरू त खाना खान जानु भएजस्तो छ।’
त्यसपछि बैठक अघि बढाउँछन्। तर पनि सांसदहरू दायाँ बायाँ कुरा गर्न छाड्दैनन्। सभापति बान्तवा उनीहरूलाई भन्छन्, ‘माननीयज्यूहरू साइड टक नगर्नुस्।’
बैठकमा सहभागी सांसद गौतमले अर्थ समितिले सबै मन्त्रीहरूलाई एकै ठाउँमा राखेर विषयगत रूपमा गहन छलफल चलाउनुपर्ने धारणा राखे।
सांसदहरूले सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रीहरूसँगको प्रत्यक्ष संवाद आवश्यक रहेकोमा सांसदहरूले जोड दिएका छन्। सरकारका काम कारबाही चित्तबुझ्दो नभएको भन्दै सभापति बान्तवाले समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर पनि काम गर्नु पर्ने चेतावनी छलफलमै दिएका थिए।
Shares

प्रतिक्रिया