बिहानको घाम झुल्किनै लागेको थियो। टेकबहादुर मगर आफ्नो दैनिक काममा निस्कँदै थिए। अघिल्लो दिनदेखि सुरु गरेको कामलाई निरन्तरता दिनु थियो।
चिशङ्खुगढी–६ भदौरेको बोहोरे अरू दिन भन्दा फरक थियो। बिहानको ७ बजिसक्दा पनि स्थानीय राई दम्पतीको घरको ढोका नखुलेपछि टेकबहादुरलाई चिसो पस्यो। उनले बाहिरैबाट धेरै पटक बोलाए, तर भित्रबाट कुनै आवाज आएन।
छिमेकीका अनुसार, अघिल्लो दिन मात्रै उनीहरूसँगै मिलेर काम गरेका थिए। जति बोलाउँदा पनि नबोलेपछि उनले छिमेकीहरूलाई हल्लाखल्ला गरे। घरको तल्लो ढोका अलिकति खुल्ला देखेपछि उनले तत्कालै गाउँले र प्रहरीलाई खबर गरे।
जब गाउँले र प्रहरी भित्र पसेर हेरे, त्यहाँको दृश्य अत्यन्तै बीभत्स थियो। ८१ वर्षीय चन्द्रविक्रम राई र ८० वर्षीया चन्द्रमाया राई आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परे। घरको दोस्रो तलाको खाटमा सिरक ओढेको अवस्थामा चन्द्रविक्रम र खाट छेउको भुईँमा चन्द्रमायाको शव भेटिनुले उनीहरूको लुटपाटपछि बीभत्स हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ।
१५ दिनअघि मात्रै काठमाडौँमा उपचार गराएर फर्किएका यो वृद्ध दम्पतीको यसरी आफ्नै घरमा हत्या होला भनेर गाउँलेले कल्पना समेत गरेका थिएनन्।
मृतक चन्द्रविक्रम राई गाउँका सामान्य नागरिक मात्र थिएनन्, उनी एक प्रतिष्ठित समाजसेवी र शिक्षाप्रेमी पनि थिए। भदौरेमा रहेको तेजमाया राई आधारभूत विद्यालय स्थापना गर्न उनको अतुलनीय योगदान रहेको विद्यालयका प्रधानाध्यापक फडिन्द्र श्रेष्ठ बताउँछन्।
राईले विद्यालयको सुरुआती दिनमा आफ्नै निजी खर्चबाट ५ जना शिक्षकलाई वर्षौँसम्म तलब खुवाएर विद्यालय बचाएका थिए।विद्यार्थीलाई पुरस्कार बाँड्नेदेखि अतिरिक्त क्रियाकलापमा सहयोग गर्नेसम्म सधैँ अगाडि सर्ने राईको बानी नै थियो।
ओखलढुङ्गामा बुढापाका दम्पतीलाई लक्षित गरी भएका हत्याका घटना एउटा डरलाग्दो शृङ्खलाका रूपमा देखा परेको छ। केही समयअघि मात्रै सिद्धिचरण नगरपालिकामा एकल महिला रत्नकुमारी कटवालको हत्या भएको थियो। पुस १५ गते भदौरेकै गैरी गाउँमा मगर दम्पतीको पनि लुटपाटपछि हत्या गरिएको प्रहरीको तथ्याङ्क छ।
एउटै वडामा एक महिनाको अन्तरालमा दुई वटा दम्पती हत्या हुनुले स्थानीय प्रशासन र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। वैदेशिक रोजगारी र अवसरको खोजीमा युवाहरू गाउँ बाहिर पलायन भएपछि घरमा एक्लै रहेका वृद्ध वृद्धाहरू अपराधीको सजिलो निशाना बनिरहेका छन्।
चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले यो घटनालाई असाध्यै त्रासदीपूर्ण र दुखद् भएको बताएका छन्। युवाहरू गाउँमा नभएको मौका छोपी वृद्ध वृद्धामाथि भएको यो आक्रमणले सिङ्गो गाउँमै सन्त्रास फैलाएको छ।
कतिपय घरमा एक वा दुई जना मात्रै बस्ने गरेको अवस्थामा नागरिकको सुरक्षामा ठूलो चुनौती थपिएको उनको भनाई छ। उनले राज्यका निकायहरूलाई गहिरो अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण बनाउन आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तीव्र पारिएको बताए। अघिल्ला हत्याका घटनामा केही युवाहरू पक्राउ परेको उनले बताए।
यस्ता घटनामा गिरोह नै संलग्न रहेको हुनसक्ने प्रहरीका अनुमान छ। उस्तै प्रकृतिका घटना दोहोरिनुले स्थानीयवासी थप त्रसित बनेका छन्।
Shares

प्रतिक्रिया