विराटनगर महानगरपालिका–८ मधुमारास्थित अमर टोलमा जारी श्रीमद्भागवत पुराणको पाँचौँ दिन शुक्रबार एउटा अकल्पनीय दृश्य देखियो। नन्द उत्सवको उमङ्गका बीच व्यास गाद्दीमा बसेर प्रवचन दिइरहेका प्रमुख वाचक श्रीश्री १००८ ओमप्रकाशजी महाराज अनिरूद्रचार्यको अचानक स्वास्थ्य बिग्रियो र तत्कालै उनको निधन भयो।
स्थानीय बैकुण्ठ प्रसाद काफ्लेको निवासमा आयोजित सात दिने पुराणको पाँचौँ दिन 'नन्द उत्सव' मनाउने तयारी भइरहेको थियो। दिउँसो करिब ३:३० बजेको समयमा पण्डित अनिरूद्रचार्य व्यासमा बसेर भक्तजनलाई शान्त रहन र भीडभाड नगर्न आग्रह गरिरहेका थिए। उत्सवको खुसीयालीमा आफैँ चकलेट वितरण गरिरहेका बेला उनी अचानक कोल्टिएपछि उपस्थित श्रद्धालुहरूमाझ खैलाबैला मच्चिएको थियो।
अन्तिम क्षणसम्म धर्मकर्ममै लीन
प्रत्यक्षदर्शी उमेश भण्डारीका अनुसार पण्डितजीले अन्तिम समयमा पनि भक्तजनलाई अनुशासित रहन सन्देश दिइरहेका थिए। 'प्रसाद वितरण गर्दा भीड नगर्नुस् भन्दै हुनुहुन्थ्यो, तर व्यासमै रहेको बेला एक्कासी ढल्नुभयो,' भण्डारीले भावुक हुँदै सुनाए।
गम्भीर अवस्थामा उनलाई तत्काल नजिकैको न्यूरो अस्पताल पुर्याइएको थियो। आयोजकका छिमेकी मुकेश रायका अनुसार अस्पताल लैजाँदासम्म उनी अर्ध-चेत अवस्थामा थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।
विराटनगर–८ का वडा अध्यक्ष राम पोखरेलका अनुसार उपचारकै क्रममा उनलाई पुनः हृदयघात भएको थियो। 'करिब एक महिनाअघि पनि उनलाई मुटुसम्बन्धी यस्तै समस्या देखिएको जानकारी परिवारबाट प्राप्त भएको छ,' पोखरेलले भने।
धार्मिक क्षेत्रमा अपूरणीय क्षति
उनले भारतको काशी र वृन्दावनजस्ता पवित्र धार्मिक स्थलहरूमा लामो समय बसेर कथावाचनको ज्ञान र अनुभव हासिल गरेका थिए। संस्कृत भाषामा आचार्य गरेका उनका शिष्यहरु कोशी प्रदेशसहित नेपालभरि छन्। भारतमा पनि उत्तिकै ख्याती कमाएका उनका प्रशंसकहरू पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशमा पनि धेरै छन्।
उनको पार्थिव शरीरलाई शुक्रबार नै अन्तिम संस्कारका लागि उर्लाबारी लगिएको छ। प्रमुख वाचकको असामयिक निधनले सिंगो टोल स्तब्ध बने पनि धार्मिक विधिअनुसार सप्ताहलाई बीचमै रोक्न नमिल्ने भएकाले अन्य सहायक पण्डितहरूको सहयोगमा पुराणलाई निरन्तरता दिइएको छ।
आइतबार पुराणको पूर्णाहुति गरिने कार्यक्रम छ।
'व्यास गाद्दीमा बसेर भगवानकै कथा सुनाउँदा सुनाउँदै उनले यो संसारबाट बिदा लिए, यो एक किसिमको दुर्लभ र मोक्ष प्राप्ति जस्तै हो,' एक स्थानीय श्रद्धालुले आँसु पुछ्दै भने।
धार्मिक रूपमा 'श्रीश्री १००८ ओमप्रकाशजी महाराज अनिरूद्रचार्य' भनिए पनि उर्लाबारीका स्थायी बासिन्दा उनको वैधानिक नाम ओमप्रकाश गौतम हो। उनका श्रीमती, एक छोरा र २ छोरी छन्।
Shares

प्रतिक्रिया