मनमोहन प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक जलाईएको घटनाको सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालय संरक्षण समितिले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालय ऐनको दफा २४ को व्यवस्था बमोजिम रहेको संरक्षण समितिले छानबिनका लागि यो समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा संरक्षण समितिका सदस्य राजन केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा संरक्षण समितिकै सदस्य मुकेश उपाध्याय र उच्च अदालत विराटनगर बार एसोसिएसनका पूर्वअध्यक्ष सुरेशलाल श्रेष्ठ रहेका छन्।
१५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको यस समितिलाई घटनास्थलको स्थलगत अध्ययन गर्ने, घटनासँग सम्बन्धित तथ्य तथा तथ्याङ्कहरू संकलन गर्ने र शिक्षक, कर्मचारी लगायतका सरोकारवालाहरूसँग आवश्यक सूचना लिने जिम्मेवारी तोकिएको छ।
विश्वविद्यालयका संस्थापक सहकुलपति एवम् संरक्षण समितिका सदस्य जीवन घिमिरेका अनुसार, समितिले स्थानीय प्रशासन र विश्वविद्यालयका पदाधिकारीहरूसँग समेत आवश्यक समन्वय गरी अनुसन्धानलाई अगाडि बढाउनेछ।
विश्वविद्यालयले घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ। थप विस्तृत अध्ययनका लागि गठित कार्यदलले आजैबाट आफ्नो काम समेत प्रारम्भ गरिसकेको जनाएको छ। छानबिन समितिले बुधबार नै बैठक बसेर छानबिन प्रक्रियालाई अघि बढाउने काम शुरू गरेको हो।
बूढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पुस्तक जलाइएको विषयमा सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन टोली गठन गरेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि र शिक्षा इकाइका प्रतिनिधि सदस्य रहेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले २४ घण्टाभित्र घटनाको विषयमा जवाफ मागेको थियो। विश्वविद्यालयले यसअघि जिल्ला प्रशासन कार्यालयलाई पठाएको जवाफमा ल्याबका लागि कोठा खाली गर्ने क्रममा धमिराले खाएका र नष्ट भएका केही पुस्तक तथा सामग्रीहरू मुचुल्का उठाएर जलाइएको दाबी गरेको थियो।
साथै, चर्चामा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तकहरू करिब १३ हजार थान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र ती सुरक्षित नै रहेको जवाफ विश्वविद्यालयले दिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।
यद्यपि, घटनाको संवेदनशीलतालाई ध्यान दिँदै गृह मन्त्रालयले घटनाको वास्तविक विवरण, निर्णय प्रक्रिया, आदेश दिने अधिकारी र संलग्न व्यक्तिहरूको पहिचान सहित छानबिन गर्न समिति गठन गरेको हो।
समितिलाई १५ दिनभित्र सत्यतथ्य छानबिन गरी विस्तृत प्रतिवेदन पेस गर्ने समयसीमा तोकिएको छ। छानबिन टोलीले भोलिदेखि नै पूर्णता पाएर आफ्नो काम सुरु गर्ने तयारी गरेको छ।
विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागले प्रयोगशाला (ल्याब) का लागि स्थान व्यवस्थापन गर्न प्रयोगविहीन अवस्थामा रहेको अटोमोबाइल वर्कसपका पुराना सामग्री हटाउने निर्णय गरेको थियो। सोही क्रममा करिब २५ दिनअघि एउटा टोलीले सामग्रीको वर्गीकरण गरी ढुसी लागेका र काम नलाग्ने कागजपत्र नष्ट गर्न स्टोर शाखा र सिभिल विभागका कर्मचारीलाई जिम्मेवारी दिएको थियो।
शनिबार दिनभरको सरसफाइपछि साँझ कलेज परिसरमै ती सामग्री जलाइएको थियो। तर, नष्ट गरिएका ‘पत्रु’ सामग्रीभित्र चिनियाँ राष्ट्रपति सी चिनफिङका पुस्तकहरू समेत परेपछि विवाद सुरु भएको हो।
ती पुस्तक तत्कालीन नेता स्व. भरतमोहन अधिकारीको पालामा तात्कालिन एमाले नेता पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले चिनियाँ दूतावासवाट मनमोहन पोलिटेक्निकमा ल्याइएको बताइएको छ। ल्याइएको पुस्तक मध्ये करिब ५ हजार पुस्तक वितरण गरिसकिएको भनिएको छ।
विश्वविद्यालय प्रशासनले स्टोरमा सडेका फोहोर जलाउने क्रममा केही थान पुस्तक परेका हुन सक्ने बताएको छ। तर यो कसैको विरुद्ध वा अपमान गर्न नगरिएको स्पष्टीकरण दिएको छ।
Shares

प्रतिक्रिया