कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा सांसदहरूले बलात्कारको विरुद्धमा कडा कानुन बनाउनु पर्ने माग राखेका छन्।
सोमबारको प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरूले बलात्कार्पछि हत्या भएको घटनामा मृत्युदण्डको कानुनी व्यवस्थाको माग गरेका हुन्। सांसदहरूले विशेष गरी महिला तथा बालिकामाथि हुने बलात्कारका घटना र शान्ति सुरक्षाको फितलो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सांसद गोपालबहादुर विश्वकर्माले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनेहरूलाई मृत्युदण्डको कानुनी व्यवस्था गर्नुपर्ने माग राखे।
महिला तथा बालबालिका अहिले पनि असुरक्षित रहेको जिकिर गर्दै अब मृत्युदण्डको कानुनी व्यवस्था ल्याउनु पर्नेमा जोड दिए।
एमालेकी सांसद मिना श्रेष्ठले धेरै बालिकाहरू बलात्कारको सिकार भइरहेकोले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताइन्।उनले कडा कारबाहीका लागि कानुनी प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘बलात्कारपछि हत्या गर्ने जघन्य प्रकृतिका घटनाका दोषीलाई कानुनी दायरामा ल्याई नेपालमा मृत्युदण्ड दिने खालको कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दछु।’
विपद् पछि राहतको माग
बैठकमा प्राकृतिक प्रकोपले पुर्याएको क्षति र राहतको विषयले पनि प्राथमिकता पाएको छ। उदयपुरकी सांसद गीतादेवी रेग्मीले हालैको भीषण हावाहुरीका कारण उदयपुरमा दुई जनाको मृत्यु र पाँच जना घाइते भएको जानकारी दिँदै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गरिन्।
सोलुखुम्बुका सांसद गम्बु शेर्पाले पनि हावाहुरी, चट्याङ र असिनाले धेरै क्षति पुर्याएको बताए। शेर्पाले चैत ७ गतेको हावाहुरी र असिनाले सोताङ लगायतका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको बताउँदै पीडित परिवारलाई यथाशीघ्र राहत प्याकेज घोषणा गर्न माग गरे।
भोजपुरकी सांसद सिर्जना राईले हावाहुरी र चट्याङका कारण आशिष् तामाङ र शर्मिला तामाङको निधन भएको र भोजपुरमा ७० भन्दा बढी घरमा क्षति पुगेको तथ्याङ्क बैठकमा प्रस्तुत गरिन्। मानवीय र ठुलो सङ्ख्यामा भौतिक क्षति भएको भन्दै उनले क्षतिको विवरण सङ्कलन भइसकेकोले अब तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
यसैगरी, पाँचथरकी सांसद मैयाँ श्रेष्ठले कोसी प्रदेशका सीमावर्ती क्षेत्रमा लागुऔषध दुर्व्यसनीको समस्या भयावह बन्दै गएको जानकारी गराइन्। ऊर्जावान् युवा शक्ति यसको दलदलमा फसेकोमा चिन्ता व्यक्त गर्दै युवाको भविष्य नै जोखिममा रहेको औँल्याईन्। उनले सीमामा निगरानी बढाउन र विद्यालय तहदेखि नै सचेतनाका कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरिन्।
वैदेशिक रोजगारीको प्रसङ्ग उठाउँदै सांसद सपना दर्जीले इरान, इजरायल र खाडी मुलुकहरूमा भइरहेको युद्धका कारण त्यहाँ रहेका २५ देखि ३० लाख नेपाली श्रमिकहरू असुरक्षित रहेकोले उनीहरूको रक्षा र आवश्यक परेमा तत्काल उद्धारको प्रबन्ध मिलाउन प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरिन्।
अर्का सांसद रामदेव यादवले भने सांसदका स्वकीय सचिवहरूको सुविधा रोकिएको र सुनसरी जिल्लालाई बजेट तथा योजनामा सरकारले उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया