झापाको गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पस प्रशासनको प्राविधिक लापरबाहीका कारण परीक्षा दिनबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। स्नातक तह (बी एड) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी निशा कार्कीले अनलाइनमार्फत परीक्षा फारम भरे पनि क्याम्पसले समयमै त्रुटि नसच्याउँदा उनको शैक्षिक वर्ष नै बर्बाद हुने भएको छ।
निशाले तोकिएको समयमै अनलाइन र फिजिकल दुवै माध्यमबाट परीक्षा फारम भरेकी थिइन्। तर फारम भर्ने क्रममा रोल नम्बर र विषय कोडमा केही प्राविधिक समस्या देखिएपछि उनले पटक–पटक क्याम्पस प्रशासनलाई जानकारी गराएकी थिइन्।
सुरुमा क्याम्पसका कर्मचारी र जिम्मेवार व्यक्तिहरूले समस्या समाधान हुने आश्वासन दिएर घर पठाए पनि परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी रहँदा अहिले फारम ‘एप्रुभ’ नभएको भन्दै अर्को वर्ष परीक्षा दिन गैर जिम्मेवार जवाफ दिएको कार्कीले नेपालखबरलाई बताइन्।
पीडित विद्यार्थी र उनकी आमाका अनुसार, अन्य विद्यार्थीहरूको उस्तै प्रकृतिको समस्या क्याम्पसले समाधान गरे पनि निशाको हकमा भने प्रशासनले बेवास्ता गरेको छ।
अध्ययनमा सक्रिय रहेकी छात्राले अन्तिम समयमा आएर परीक्षा दिन नपाउने खबर सुनेसँगै उनी र उनको परिवार यति बेला मानसिक तनावमा छन्। क्याम्पस जस्तो जिम्मेवार निकायले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै अभिभावकले यसबारे तत्काल पहल गरिदिन र परीक्षा दिने वातावरण मिलाइदिन आग्रह गर्दै आएका छन्।
क्याम्पस भन्छ, अनलाइन फर्म प्रणालीमा त्रुटि
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लागू गरेको अनलाइन फाराम भर्ने प्रणालीमा प्राविधिक त्रुटि र समन्वयको अभाव हुँदा शैक्षिक भविष्य अन्योलमा परेको जिकिर क्याम्पसको छ। क्याम्पस प्रशासन ती छात्राले आफ्ना दाजुमार्फत अनलाइन फाराम भराएको दाबी गर्छ।
तर, फाराम भर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण उनको प्रवेश पत्र जारी हुन सकेन। क्याम्पसका प्राविधिक कर्मचारीले फाराम बिग्रिएको जानकारी विद्यार्थीलाई गराएको दाबी गरे पनि बेलैमा समाधानको पहल नहुँदा छात्राको एक वर्ष खेर जाने अवस्था सिर्जना भएको छ।
क्याम्पस प्रमुख भीम विजय बास्तोलाले अहिले विद्यार्थी स्वयंले अनलाइन फाराम भर्ने पद्धति रहेकाले यसमा क्याम्पसको प्रत्यक्ष संलग्नता नहुने स्पष्ट पारेका छन्।
‘हाम्रो प्राविधिक भाइले ती नानीलाई फाराम बिग्रिएको र परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न जानकारी गराउनुभएको थियो,’ क्याम्पस प्रमुख भन्छन्,‘तर विद्यार्थी पछि सम्पर्कमा नआउँदा र समयमै गम्भीरता नदेखाउँदा यो समस्या आएको देखिन्छ।’
यता, क्याम्पसले सबै शुल्क बुझिसकेको अवस्थामा पनि विद्यार्थीको प्रवेश पत्र नआउनुमा क्याम्पस प्रशासनको पनि जिम्मेवारी हुने भन्दै प्रश्न उठेको छ। अनलाइन प्रणालीमा दर्ता भइसकेको विवरण (रजिस्ट्रेसन नम्बर) का कारण पुनः अर्को फाराम भर्न नमिल्ने र अघिल्लो फाराम क्यान्सिल पनि नहुने प्राविधिक जटिलताका कारण समस्या थप बल्झिएको हो।
परीक्षा नियन्त्रक भन्छन्– ‘सबै सुतेर बसे’
अनलाइन फारम भर्ने समय पटक–पटक थप गर्दा पनि विद्यार्थी र क्याम्पस प्रशासनको चरम लापरबाहीका कारण निशा कार्की लगायतका विद्यार्थीहरू पर्सिदेखि सुरु हुने परीक्षामा सहभागी हुन नपाउने अवस्था सिर्जना भएको हो।
त्रिभुवन विश्वविद्यालय, प्रदेश परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक गोविन्द गुरागाईँले विद्यार्थीले समयमा फारम नभरेको र क्याम्पस प्रशासनले पनि आफ्नो जिम्मेवारी पूरा नगर्दा यो समस्या आएको बताए। केही दिन अघिसम्म पनि अनलाइन पोर्टल खुला राखेको र छुटेका विद्यार्थीले फारम भरेको भए पनि गौरा दहका विद्यार्थी र प्रशासनले यसमा चासो नदेखाउँदा अहिले विद्यार्थी समस्यामा परेको बताए।
‘विद्यार्थीले आफ्नो फारम भर्ने पहिलो दायित्व हो भने कतिले फारम भरे वा भरेनन् भनेर रेजा लगाउने र नभर्नेलाई खबर गर्ने जिम्मेवारी क्याम्पसको हो,’ उनले भने, ‘यहाँ विद्यार्थी, क्याम्पस प्रशासन र आइटी शाखा सबै सुतेर बसेका देखिन्छन्।’
अहिले परीक्षाका लागि आवश्यक परीक्षार्थीको नामावली र केन्द्रको विवरण टाइप भई सबै परीक्षा केन्द्रमा पुगिसकेको छ। अनलाइन पोर्टल समेत बन्द भइसकेको अवस्थामा अन्तिम समयमा आएर कुरा उठाउँदा प्राविधिक रूपमा काम गर्न नसकिने उनले बताए।
क्याम्पस प्रशासनले विद्यार्थीको भर्ना रेकर्ड अनुसार फारम रुजु नगर्दा यो त्रुटि हुन पुगेको हो। २५ गतेदेखि बीए, बीबीए, बीएड, बीबीएस, बीबीए लगायतका डिप्लोमा तहको परीक्षा सञ्चालन हुँदै छ।
Shares

प्रतिक्रिया