विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण अन्त्य गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। राजनीति दबाबका कारण पछि हटेका जनप्रतिनिधिहरू अरू पालिकाले काम थालेपछि अग्रसर भएका हुन्।
सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रमा कडाइका साथ फुटपाथ व्यवस्थापन लागू गर्ने निर्णय गरेको हो।
महानगरका मेयर नागेश कोइरालाले प्रारम्भिक चरणमा दुई दिन माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने तथा त्यसपछि पूर्ण रूपमा कार्यान्वयनमा जाने रणनीति बैठकले तय गरेको बताए। महानगरले सडक पेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो।
अबदेखि पसलको सटर बाहिर कुनै पनि सामग्री राख्न नपाइने महानगरले जनाएको छ। निर्माण सामग्री सडक पेटीमा थुपार्न नपाइने, मोटरसाइकल ग्यारेजका सामान बाहिर राख्न निषेध गरिने तथा कवाडी व्यवसाय सञ्चालनका लागि न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भनिएको छ। नियम उल्लङ्घन गर्ने विरुद्ध कारबाहीको प्रक्रिया पनि सँगसँगै अघि बढाइने नगर प्रहरी प्रमुख राजन पौडेलले बताए।
फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाइ शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार सङ्घ विराटनगरका अध्यक्ष सञ्जय कुमार सिंह मण्डल सदस्य र नगर प्रहरीका प्रमुख राजन पौडेल सदस्यसचिव रहेको समितिसमेत गठन गरेको छ।
समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ। प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।
महानगरका मेयर कोइरालाका अनुसार, पछिल्लो समय सर्वसाधारणबाट फुटपाथ अतिक्रमण, जाम समस्या र असुरक्षित आवतजावतबारे व्यापक गुनासो आएको थियो। त्यसैलाई सम्बोधन गर्न अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
मेयर कोइरालाले व्यवस्थित, सफा र सुरक्षित सहर निर्माणका लागि निजी क्षेत्र, व्यवसायी र नागरिक सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अभियानमा साथ दिन आग्रह गरेका छन्।
महानगरको अभियानमा प्रशासनको पूर्ण साथ र सहयोग रहने मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले प्रतिबद्धता जनाए। बजार क्षेत्रको फुटपाथ नियन्त्रण र सिंघिया, केशलिया खोलाको अवैध उत्खननलाई रोक्न महानगरलाई प्रहरीका तर्फबाट पूर्ण साथ र सहयोग रहने मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले स्पष्ट पारे।
मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको बैठकमा मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी लगायत सरोकार राख्ने सरकारी तथा व्यवसायी संस्थाहरूको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया