नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा जीवन्त साक्षी र झापाली जनताको बलिदानको प्रतीक मानिएको बिर्तामोडस्थित मुख्य मुक्ति चोकको सालिक यति बेला भत्काइएको छ। २०४६ सालको जनआन्दोलन र त्यसपछिका राजनीतिक परिवर्तनका पदचापहरूलाई लिपिबद्ध गरेको यो संरचना रातारात भत्काइँदा यहाँका स्थानीयलाई पटक्कै चित्त बुझेको छैन।
यसका निर्माता र स्थानीय बासिन्दा मात्र होइन, प्रजातान्त्रिक आन्दोलनका अभियन्ताहरू समेत यो सालिक भत्काइएको प्रति आक्रोशित छन्। निर्माण तथा संरक्षण समितिका संयोजक गोपाल बस्नेतका अनुसार, यो झापाली जनताले अन्याय र दमनका विरुद्ध गरेको विद्रोहको एउटा साझा विरासत थियो।

यसको पृष्ठभूमि २०४६ सालको जनआन्दोलनसँग जोडिएको छ। तत्कालीन समयमा फागुन ७ गते बिर्तामोडमा भएको विशाल आन्दोलन र त्यसपछिको दमनले यो क्षेत्रलाई एउटा नयाँ पहिचान दिएको थियो। आन्दोलनकै क्रममा विद्यार्थी नेता राम थापाले सहादत प्राप्त गरेपछि आन्दोलनले थप उचाइ लियो।
नेपाल कानुन आयोगका पूर्व सदस्य एवम् साहित्यकार लिला उदासी लगायतका नेताहरूले तत्कालीन समयमै यस क्षेत्रलाई ‘मुक्ति क्षेत्र’ घोषणा गर्ने उद्घोष गरेका थिए। जनआन्दोलनको सफलता र २०६२÷६३ को परिवर्तनको सँघारमा आइपुग्दा यसले मूर्त रूप पायो।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट शिलान्यास गरिएको यो स्मारकले झापाली महिला र पुरुषको संयुक्त सङ्घर्षलाई प्रतिनिधित्व गर्थ्यो।

संयोजक बस्नेतका अनुसार, काठमाडौँका विभिन्न कलाकृतिहरूको अध्ययन गरी निकै मेहनतका साथ यो सालिक निर्माण गरिएको थियो। सबै राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहेको समितिले यसलाई पूर्णता दिएको थियो। गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो जनआन्दोलन पछि संयुक्त रूपमा यसको उद्घाटन गरेका थिए।
‘यो संरचनाले बिर्तामोडको सौन्दर्य मात्र बढाएको थिएन, यसले यहाँ कसैमाथि अन्याय हुन सक्दैन भन्ने एउटा नैतिक प्रतिबद्धतालाई पनि झल्काउँथ्यो, बस्नेतले भने, ‘गएराती समन्वयनै नगरी सालिक भत्काइयो यो दुखद कुरा हो।’
सालिक स्थानान्तरणका विषयमा ठेकेदार र सम्बन्धित पक्षसँग छलफल भइरहेकै बेला अचानक रातको समयमा यसलाई लथालिङ्ग बनाएको उनले गुनासो गरे। राज्यको शक्ति प्रयोग गरेर जनआन्दोलनको एउटा धरोहरलाई यसरी अपमानजनक ढङ्गले भत्काइनुले प्रजातन्त्रवादीहरूमा आक्रोश व्यक्त गरे।

यो सालिक पुनः कसरी र कहाँ स्थापित गर्ने भन्ने विषयमा छलफल गर्न निर्माण समितिले आकस्मिक बैठक समेत बोलाएको छ। झापालीहरू भन्छन्, ‘मुक्ति क्षेत्रको अस्तित्व मेटाउने काम भएको छ, यसको राख्ने ठाउँको तय नगरी भत्काइनु दुर्भाग्यपूर्ण हो।’
झापाको बिर्तामोडस्थित ऐतिहासिक मुक्ति चोकमा रहेको मुक्ति स्तम्भ हालै त्यहाँ निर्माणाधीन पुल (फ्लाईओभर/अण्डरपास) निर्माण गर्नको लागि भत्काईएको हो। सालिक निर्माण र संरक्षणमा संलग्न समितिका सचिव हरिचन्द सिवाकोटीले विकास निर्माणका क्रममा पुल बनाउनुपर्ने भएकाले स्तम्भ हटाउनुपर्ने कुरामा पहिले नै छलफल भए पनि कहाँ राख्ने विषय नटुङ्गिँदै भत्काइएको बताए।

के हो मुक्ति चोक?
मुक्ति चोक र यस स्तम्भको नामकरणको पृष्ठभूमि निकै ऐतिहासिक छ। वि।सं। २०४६ को जनआन्दोलनका क्रममा मेची क्याम्पसमा राम थापाको सहादत भएपछि बिर्तामोडमा भएको विशाल जनसभाले उक्त स्थानलाई मुक्ति चोक घोषणा गरेको थियो। जनताले निरंकुशताबाट मुक्ति पाएको र विजय प्राप्त गरेको भाव बोकेर यसको नाम मुक्ति चोक राखिएको त्यो बेलाका जानकारहरू बताउँछन्।
सालिकमा जनआन्दोलनको पूर्ण झलक झल्कने गरी चार वटा पित्तलका पाताहरूमा चित्रहरू कुँदिएका छन्। जसमा एकातिर जनताले आन्दोलन सुरु गरेको, अर्कोतिर प्रहरीको दमन र गोलाबारी, त्यसपछि जनताले सङ्घर्ष जारी राखेको र अन्त्यमा एक महिला र पुरुषले झन्डा फहराएर विजय उत्सव मनाएको दृश्य समेटिएको छ।

यो स्तम्भ तत्कालीन समयमा गोपाल बस्नेतको अध्यक्षतामा गठित समितिले निर्माण गरेको थियो, जसमा सचिव सिवाकोटीका साथै लिला उदासी, अशोक पोखरेल र उद्धव थापा सदस्यका रूपमा संलग्न थिए। भौतिक रूपमा सालिक हटाइए पनि मुक्ति चोकको पहिचान भने नमेटिने विश्वास लिइएको छ।
पुल निर्माण गर्ने पक्षले पुलको माथिल्लो भागमा मुक्ति स्तम्भको सानो आकृति र ठूलो अक्षरमा मुक्ति चोक लेखिदिने सर्त राखेको छ। २४० वर्षको राजतन्त्र अन्त्य भई जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्ने अधिकार पाएको प्रतीकका रूपमा यो चोकको सान्दर्भिकता अहिले पनि रहेको सचिव सिवाकोटीले नेपालखबरलाई बताए।
Shares

प्रतिक्रिया