मोरङको विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका वडा नं. ३ स्थित एक भाडाको कोठामा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मोरङ जिल्ला बुढीगंगा गाउँपालिका वडा नं. २ गंगाचोक बस्ने २७ वर्षीय करन प्रधान र सोही स्थान बस्ने २१ वर्षीय अनिस परियार रहेका छन्।
प्रहरीले उनीहरूको कोठाबाट ‘ट्रामाडोल–५०’ लेखिएको ३ हजार ९ सय १० पिस र ‘डाइसिक्लोमिन एचसिएल’ लेखिएको ३ हजार ७ सय ७० पिस गरी जम्मा ७ हजार ६ सय ८० पिस प्रतिबन्धित औषधि बरामद गरेको छ।
औषधिका साथै उनीहरूको साथबाट ८ ग्राम ७५ मिलिग्राम चरेस जस्तो देखिने पदार्थ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई दिउँसो समयमा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ।
Shares

प्रतिक्रिया