कोसी प्रदेश सरकारले आगामी जेठ ६ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन आह्वानको सिफारिस गरेको हो।
प्रदेश सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ६ गते बुधबार अपरान्ह ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका हुन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ।
बैठकले कोसी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।
सरकारले केही महत्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ। कोसी प्रदेश तथ्यांक नियमावली २०८२लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको उनले बताए।
कोसी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८३ र कोसी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश २०८३लाई थप छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिए ।
Shares

प्रतिक्रिया