आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन) ले चुनावी अभियानमा फरक शैली अपनाएका छन्।
उनले आफ्नै डेरामा मतदाता तथा स्थानीयसँग भेटघाट र छलफल गरेका हुन्। बुधबार बालेनको डेरा परिसरमा उनलाई हेर्न, भेट्न र फोटो खिच्नहरूको निकै भिडभाड देखिन्थ्यो।

मत माग्न नेताहरू मतदाताका दैलोमा पुग्ने चलनभन्दा भिन्न देखिएपछि दमकमा बालेन शैलीको चर्चा चल्न थालेको छ।
मंगलबार उम्मेदवारी दर्ता गरेका बालेन दमक-५ स्थित लक्की सिटौलाको घरमा सम्पर्क कार्यालय खोलेर बसेका छन्।
उनले त्यहीँ बुधबार दिनभर शुभचिन्तकहरूसँग भेट/संवाद गरे।

बुधबार बिहानदेखि साँझसम्म झन्डै ३ हजार मानिस उनलाई भेट्न गएको सुरक्षा स्रोत बताउँछ।
बालेनकहाँ गएकाहरू उनको कुरा सुन्न भन्दा पनि आफ्नै कुरा राखेर फर्किएका थिए।
भेटघाटका क्रममा बालेनले आफ्ना चुनावी एजेन्डा र गतिविधिबारे कुरै राखेनन्।
‘बालेनजीले अरूका कुरा मात्रै सुन्नु भयो, आफ्ना कुरा धेरै राख्नु भएन, बालेनलाई भेटेर फर्किएका एक शुभेच्छुकले नेपालखबरसँग भने, बालेनजीले हाम्रा कुरा सुन्नुभयो, आफू बोल्नु भएन।’
बालेनलाई भेट्न रास्वपाका झापा, मोरङ र सुनसरीका उम्मेदवार मात्र नभई अन्य दलका कार्यकर्ता पनि पुगेको सचिवालय स्रोतले जनाएको छ।
सोही क्रममा नेकपा एमालेको युवा संघ दमक नगर कमिटीका पदाधिकारी रास्वपामा प्रवेश गरेका हुन्।
बुधबार दिनभर दमकस्थित डेरामा भेटघाटमा व्यस्त बालेन आज बिहीबार बिहानै भने इलाम पुगेका छन्।
ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्ला तर्फ निस्किएका बालेन इलामको छलफल पछि मध्याह्न १२ बजे फिदिममा कार्यकर्तासँग भेट्ने कार्यक्रम रहेको रास्वपा पाँचथरका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।
उनले भने, ‘हामीलाई बिहान ९ बजे इलामबाट हिँड्ने भन्ने जानकारी आएको छ, हामी यहाँ १२ बजेतिर स्वागत तथा भेटघाटको समय मिलाउने गरी तयारी गर्दैछौँ।’
बालेन आज ताप्लेजुङ पुगेर बस्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
Shares

प्रतिक्रिया