हरेक आमाबाबु आफ्नो बच्चा राम्रो संस्कारको हाेस् भन्ने चाहन्छन्।
त्यसका लागि उनीहरुले आफ्ना तर्फबाट सकेसम्मको मेहनत पनि गरिरहेका हुन्छन्। तर कहिलेकाहीँ आमाबाबुले बच्चालाई कडा व्यवहार देखाउन थाल्छन्। कडा व्यवहार दोखाउँदा उनीहरुलाई बच्चा डराएर राम्रो बाटोमा आउँछन् कि भन्ने लाग्छ। वास्तविकता भने यस्तो हुँदैन।
बच्चाहरुप्रति कडा व्यवहार गर्ने अभिभावकहरुमा गरिएको अध्ययनमा यसको असर उल्टो पर्ने गरेको देखिएको छ। कडा व्यवहारमा हुर्किएका बच्चाहरुको व्यवहार अन्य बच्चाहरुको भन्दा नराम्रो हुन्छ। यस्ता बच्चाहरुमा सहानुभूतिको भावना पनि कम हुने गरेको छ।
यस्ते व्यवहारमा हुर्किएका बालबालिकाले आफ्नो मनको कुरा पनि अभिभावकहरुलाई भन्दैनन्। कडा अभिभावकमा केही कमजोरी पनि हुन्छन्, जसका कारण अभिभावक र बच्चाहरुको बीचमा दूरी उत्पन्न हुन्छ।
कडा व्यवहारका कारण बालबालिकामा उत्पन्न हुने केही परिणाम यहाँ उल्लेख गरिएको छ–
जिम्मेवारी
जिम्मेवारी र अनुशासन आफैंले सिक्ने कुरा हो। यद्यपि बच्चाहरुमाथि प्रतिबन्ध लगाइन्छ वा कडा सीमा तय गरिन्छ भने उनीहरुले आफूलाई नियन्त्रित गरिएको महसुस गर्छन् र कसैको पनि नियन्त्रणमा बस्न मान्दैनन्। उनीहरु कुनै महत्वपूर्ण जिम्मेवारी लिने काममा पनि पछि हट्ने गर्छन्।
डिप्रेसन
अभिभावक कडा भएका बालबालिकालाई आफ्नो समस्या अभिभावकले बुझ्दैनन् भन्ने लाग्छ। उनीहरुलाई आफ्नो कुनै न कुनै कुरा आमाबाबुले स्वीकार नगरेको हो कि भन्ने लाग्छ। यसबाट उनीहरुभित्र आक्रोश र डिप्रेसनको लक्षण देख्न सकिन्छ। यस्ता बालबालिकाहरु डिप्रेसनको जोखिममा हुन्छन्।
आत्मसम्मानमा ठेस
बच्चाहरुले गरेको गल्तीमा उनीहरुलाई राम्रोसँग सम्झाउनुको सट्टा चिच्याएर डर देखाउन चाहनुहुन्छ भने यसले उनीहरुको आत्मसम्मानमा चोट पर्छ। यस्तोमा आफ्नो आत्मसम्मान बचाउन उनीहरु पनि चिच्याएरै बोल्न थाल्छन्।
गलत सोच
कडा व्यवहारमा हुर्किएको परिवारका बालबालिका शक्ति सधैं सही हुन्छ भन्ने सोच्छन्। यस्ता बालबालिकाहरु आँखा बन्द गरेर शक्ति वा पदमा रहेकामानिसको विश्वास गर्न थाल्छन् र आफैंले कुनै जिम्मेवारी लिनबाट बच्छन्।
विद्रोही
कडा अनुशासनमा बसेका बालबालिका विद्रोही बन्न सक्छन्। आमाबाबुले निर्धारण गरेको सीमा पार गर्न उनीहरु कुनै पनि हदसम्म जान सक्छन्। कडा अनुशासनमा हुर्किएका बालबालिकाको क्रोधित व्यवहार झन् धेरै हानिकारक हुन्छ। यी बालबालिकाहरुमा अन्य बालबालिकाको तुलनामा विद्रोही भावना बढी हुन्छ।
झुट बोल्नु
कडा अनुशासनमा आफ्नो सन्तानलाई राखिरहेका आमाबाबुलाई उसलाई झुट बोल्न प्रेरित गरिरहेको पत्तो हुँदैन। यस्ता बालबालिका आमाबाबुको कारबाहीबाट बच्न झुटको सहारा लिन्छन्। जसको कारण बिस्तारै उनीहरुको लागि झुटो बोल्नु सामान्य लाग्न थाल्छ।
Shares
प्रतिक्रिया