ad ad

जीवनशैली


पोर्न फिल्म बनिदिन्छ डिभोर्सको कारण

पोर्न फिल्म बनिदिन्छ डिभोर्सको कारण

नेपालखबर
चैत ५, २०८० सोमबार ९:९, काठमाडौँ

पोर्न फिल्मलाई एडल्ट फिल्म, ब्लु फिल्म अथवा कामुक फिल्म भन्ने गरिन्छ। पोर्न फिल्म हेरेर धेरै मानिसले एकान्तको समय बिताउँछन्। सन् १८९६ मा पहिलोपटक ७ मिनेटको फोर्न फिल्म बनेको थियो। फ्रान्समा बनेको ‘ले काउचर डे ला मारी’ नामक उक्त फिल्म सिनेमा हलमा पनि प्रशर्दन गरियो। त्यसपछि साइलेन्ट मोडमा बनाइएका ब्ल्याक एन्ड ह्वाइट पोर्न फिल्म बन्ने क्रमले तीव्रता पायो।

सन् १९५० को दशकदेखि विदेशमा र सन् १९८० को दशकमा भारतमा फोर्न फिल्मका क्यासेटहरू निकै बिक्री भए। प्रयोगकर्ताले भीसीआर घरमा लुकाएर हेर्न थाले। त्यतिबेला धेरै दम्पतीहरूले आफ्नो शयनकक्षमा परिवारबाट लुकाएर यस्ता फिल्म हेर्ने गर्थे। 

जमाना हाईटेक बन्दै गएपछि अहिले मोबाइल फोनमा पोर्न फिल्महरू उपलब्ध छन्। अहिले फोर्न फिल्म हरकसैको पहुँचमा छ। हरेक मानिसले आफूले चाहेको ठाउँमा बसेर एक्लै यस्ता फिल्म हेर्न सक्छन्। 

फोर्न फिल्मको प्रभावले समाजमा अपराधको ग्राफ पनि उकालो लागेको विभिन्न अध्ययनहरुले देखाएका छन्। समाजमा बढ्दै गएको मानसिक स्वास्थ्य, बलात्कार, बाल दुर्व्यवहार, यौन उत्पीडन लगायतका घटना वृद्धि हुनुमा पोर्न फिल्मले पनि भूमिका खेलेको विज्ञहरु बताउँछन्। यति मात्रै होइन, यस्ता फिल्म वैवाहिक सम्बन्धलाई बिगार्ने र सम्बन्धविच्छेदसम्म गराउने कारण बन्दै छन्।

सम्बन्ध विज्ञ डा. गीताञ्जली शर्माका अनुसार केटाहरुले बढी पोर्न हेर्ने गरेको पाइन्छ। पोर्न फिल्मका प्रयोगकर्ता केटीहरु पनि उल्लेख्य रहेको शर्मा बताउँछिन्। यस्ता फिल्मबाट मानिसले क्षणिक खुशी र सन्तुष्टि लिने गर्छन्। तर यसलाई बढावा दिएको खण्डमा वास्तविक जीवनमा भने असर गर्ने शर्माको भनाइ छ। 

‘यस्ता फिल्मको अधिक प्रयोगले सम्बन्धमा समस्या उत्पन्न गराउँछ,’ शर्मा भन्छिन्, ‘धेरै दम्पतीहरूले आफ्नो पार्टनरले आफ्नो यौन जीवनमा पोर्नस्टारले जस्तै व्यवहार गर्नुपर्छ भन्ने सोच्छन्। त्यसो भएन भने उनीहरु आफ्नो पार्टनरलाई महत्त्व दिन छाड्छन्। जसका कारण उनीहरुको सम्बन्धमा दरार आउँछ।’

भारतमा भएको एक सामाजिक सर्वेक्षणले पोर्न फिल्म हेर्ने मानिस आफ्नो पार्टनरबाट अलग हुने जोखिममा रहेको देखाएको छ। पोर्न हेर्ने १० प्रतिशत पुरुष र १८ प्रतिशत महिला सम्बन्धविच्छेदको जोखिममा रहेको सर्वेक्षणले देखाएको छ। विवाह भएको २ वर्षभित्रका महिला–पुरुष यो जोखिममा बढी रहेको पाइएको छ।

सम्बन्ध विज्ञ डा. केआर धरका अनुसार पोर्न फिल्मले यौन भावना बढाउँछ। पोर्नले यौन भावना केटामा भन्दा केटीमा ज्यादा जगाउने उल्लेख गर्दै धर भन्छन्, ‘पोर्नमा केटीहरूलाई वस्तुको रूपमा देखाइन्छ। यहाँ माया, स्नेह वा आत्मीयता हुँदैन।’ 
पोर्न हेर्ने मानिसहरु कल्पनामा रमाउने र आफ्नो पार्टनरको नजिक नहुने डा. धरको भनाइ छ। 

डा. धर भन्छन्, ‘पुरुष साथीहरु पोर्न फिल्मको लतमा परेका यस्ता धेरै घटनाहरु देखेको छु। विवाहपछि आफ्नो पार्टनरबाट उनीहरूको अपेक्षा पोर्न फिल्मका दृश्यजस्तै थिए, जसले वैवाहिक सम्बन्धलाई खत्तम बनायो र उनीहरुको सम्बन्धविच्छेद भयो।’

लामो समय लगाएर खिचेर सम्पादन गरेका दृश्यलाई मानिसहरुले वास्तविकजस्तै सोच्ने गरेको पनि सर्वेक्षणले देखाएको छ। फिल्मका दृश्य प्राकृतिकजस्ता देखिए पनि वास्तविक जीवनमा सम्भव नभएको डा. धर बताउँछन्। डा. धर भन्छन्, ‘धेरै जोडीहरूले पोर्न फिल्मलाई वास्तविकताको रूपमा बुझ्ने गल्ती गर्छन्। पोर्नमा देखाइने अवस्थाहरू प्राकृतिक होइनन्। धेरै पार्टनरका यस्ता कार्य सहन नसकेर सम्बन्ध टुट्ने गरेको पाइन्छ।’

डा. धरका अनुसार जसरी कुनै पनि सम्बन्ध परफेक्ट हुँदैन, त्यसरी नै सेक्स पनि परफेक्ट हुँदैन। वैवाहिक सम्बन्धले एकअर्कालाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि जोड्छ र सम्बन्धलाई सुन्दर बनाउँछ।

जर्नल अफ सोसल एण्ड क्लिनिकल साइकोलोजीमा प्रकाशित रिसर्चका अनुसार पोर्न हेर्ने मानिसहरूले आफ्ना पार्टनरलाई कम महत्त्व दिने गरेका छन्।  त्यहाँ उल्लेख गरिएको छ, ‘सम्बन्धमा रहँदा उनीहरु पोर्नस्टारको फ्यान्टासीमा मग्न रहन्छन्। जुन सम्बन्धका लागि हानिकारक हुन्छ।’

पोर्न फिल्मले मानिसलाई स्वार्थी बनाउने डा. धरको तर्क छ। भन्छन्, ‘पोर्न फिल्म हेर्ने मानिसले आफ्नो खुशीको बारेमा मात्र सोच्दछ, जुन सम्बन्धको लागि खतरनाक हुन्छ।’ 

अमेरिकाको उटाह स्टेट युनिभर्सिटीले पोर्नोग्राफीमा गरेको एक अध्ययनले ४६५ पुरुष र १६५ महिलाले हरेक हप्ता पोर्न फिल्म हेर्ने गरेको पाइएको छ। पोर्नले मानसिक स्वास्थ्यका साथै सम्बन्धमा पनि नकारात्मक असर गर्ने उक्त अध्ययनले देखाएको छ।

हालै एक मुद्दाको सुनुवाइका क्रममा केरला उच्च अदालतले पोर्न हेर्नु कुनै पनि व्यक्तिको व्यक्तिगत रोजाइ हो र यदि उसले आफ्नो निजी ठाउँमा हेरिरहेको छ भने कुनै अपराध नहुने बताएको छ। सम्बन्ध विज्ञहरुले पनि पोर्नले केही क्षण खुशी र सन्तुष्टि दिने बताएका छन्। तर, क्षणिक आनन्दका लागि लामो समय पोर्न फिल्म हेर्नाले वास्तविक जीवनमा असर गर्ने उनीहरुको तर्क छ।दैनिक भास्करबाट
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .