जीवनशैली


दिनमा ७ हजार पाइला हिँड्दा हुन्छ, दिमाग स्वस्थ र यी रोगको जोखिम कम: अध्ययन

दिनमा ७ हजार पाइला हिँड्दा हुन्छ, दिमाग स्वस्थ र यी रोगको जोखिम कम: अध्ययन

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १०:४५, काठमाडौँ

दिनको सात हजार पाइला हिँड्नु मस्तिष्कलाई स्वस्थ राख्न र शरीरलाई धेरै रोगबाट बचाउन पर्याप्त हुन सक्ने हालैको एक अनुसन्धानले देखाएको छ। 

अनुसन्धानअनुसार, प्रायः उल्लेख गरिएका १० हजार पाइलाभन्दा ७ हजार पाइलाको लक्ष्य सजिलो र वास्तविकताको नजिक छ।

ल्यान्सेट पब्लिक हेल्थमा प्रकाशित अनुसन्धानले दिनको ७ हजार पाइला हिँड्दा क्यान्सर, डिमेन्सिया र गम्भीर मुटुसम्बन्धी रोगको जोखिम कम हुने देखाएको हो।

अनुसन्धानकर्ताहरू भन्छन्, ‘यो नतिजाले मानिसहरूलाई दैनिक आफ्नो पाइला गणना गर्न र आफ्नो स्वास्थ्य सुधार गर्न प्रेरित गर्न सक्छ।’

दश हजार पाइलाको सिद्धान्त कहाँबाट आयो?

अनुसन्धानको नेतृत्व गर्ने डा. मेलोडी डिङ भन्छिन्, ‘हाम्रो मनमा के विश्वास छ भने हरेक दिन १०,००० पाइला हिँड्नु आवश्यक छ। तर यसको कुनै वैज्ञानिक प्रमाण छैन।’

दश हजार पाइला लगभग ८ किलोमिटर बराबर हुन्छ। यो दूरी प्रत्येक व्यक्तिका लागि फरक हुन सक्छ। यो पाइलाको लम्बाइमा निर्भर हुन्छ, जुन उचाइ, लिङ्ग र हिँड्ने गतिअनुसार फरक पर्छ। छिटो हिँड्ने मानिसले सामान्यतया लामो पाइला चाल्छन्। 

दश हजार कदमको आंकडा १९६० को दशकमा जापानमा गरिएको मार्केटिङ अभियानबाट आएको थियो। १९६४ टोकियो ओलम्पिकअघि एक पेडोमिटर सुरु गरिएको थियो- 'म्यानपो-के', जसको अर्थ १०,००० पाइला हो।

डा. डिंग भन्छिन्, ‘यो तथ्या‌ंक सन्दर्भ बाहिर लिइएको थियो र यो एक अनौपचारिक दिशानिर्देश बन्यो जुन धेरै फिटनेस ट्र्याकर र एपले आज पनि सिफारिस गर्छन्।’

द ल्यान्सेटमा प्रकाशित अध्ययनले विश्वभरका १.६ लाखभन्दा बढी मानिसको स्वास्थ्य र गतिविधिका डेटा विश्लेषण गरेको थियो। 

दिनमा २,००० पाइला हिँड्नेहरूको तुलनामा ७,००० पाइला हिँड्नेहरूलाई यी रोगको जोखिम कम भएको पाइयो:

मुटु रोग: २५ प्रतिशत कम

क्यान्सर: ६ प्रतिशत कम

डिमेन्सिया: ३८ प्रतिशत कम

डिप्रेसन: २२ प्रतिशत कम

यद्यपि, अनुसन्धानकर्ताहरूका अनुसार केही आंकडा कम ठिक हुन सक्छन्, किनभने ती सीमित संख्याका अध्ययनबाट लिइएका हुन्।

समग्रमा अनुसन्धान भन्छ- दैनिक ४,००० पाइला हिँड्दा पनि २,००० पाइला मात्र हिँड्नेहरूको तुलनामा राम्रो स्वास्थ्य हुन्छ।

धेरैजसो रोगका लागि ७,००० पाइलापछि फाइदा स्थिर हुन्छन्, तर मुटुको स्वास्थ्यका लागि यो भन्दा बढी हिँड्नुका थप फाइदा छन्।

कति पाइला चाल्नु आवश्यक छ?

धेरैजसो व्यायाम निर्देशिकाहरूले मानिसहरू कति पाइला हिँड्छन् भन्ने कुरामा होइन, कति समयसम्म शारीरिक गतिविधि गर्छन् भन्ने कुरामा केन्द्रित हुन्छन्।

उदाहरणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वयस्कहरूले प्रत्येक हप्ता कम्तीमा १५० मिनेट मध्यम व्यायाम वा ७५ मिनेट कडा व्यायाम गर्नुपर्छ भन्छ।

डा. डिङ भन्छिन्, ‘यो सल्लाह धेरै मानिसलाई बुझ्न गाह्रो हुन सक्छ, तर हालका दिशानिर्देश अझै पनि महत्त्वपूर्ण छन्।’

उनी थप्छिन्, ‘केही मानिस पौडी खेल्छन्, साइकल चलाउँछन् अर्थात् उनीहरूमा शारीरिक सीमा छन्, जसले धेरै हिँड्नबाट रोक्छन्।’

तर हरेक दिन कति पाइला चाल्नुपर्छ भन्ने सल्लाहले उनीहरूलाई दिनभरि विभिन्न तरिकाले सक्रिय रहन प्रोत्साहन गर्न सकिने बताउँछिन्। 

ब्रुनेल विश्वविद्यालय, लन्डनका डा. डेनियल बेली भन्छन्, ‘अध्ययनले प्रत्येक दिन १०,००० पाइला चाल्नु आवश्यक छ भन्ने 'मिथक' लाई चुनौती दिन्छ।’

उनका अनुसार, दश हजार पाइला बढी सक्रिय व्यक्तिहरूका लागि राम्रो लक्ष्य हुन सक्छ, तर बाँकी मानिसका लागि पाँचदेखि सात हजार पाइला बढी सजिलो र प्राप्त गर्न सकिने लक्ष्य हो।

पोर्ट्समाउथ विश्वविद्यालयका डा. एन्ड्रयु स्कट पनि पाइलाको निश्चित संख्या आवश्यक छैन भन्ने विश्वास गर्छन्।

उनी भन्छन्, ‘धेरै हिँड्नु सधैँ राम्रो हुन्छ र मानिसहरूले खास  लक्ष्यबारे धेरै चिन्ता गर्न जरुरी छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad