विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार मोटोपनको कारण लाग्ने नसर्ने रोगबाट वार्षिक १६ लाख व्यक्तिको मृत्यु हुने गरेको छ। संगठनले सन् २०२२ मा प्रत्येक ८ जनामध्ये १ जनामा मोटोपनको समस्या देखिएको उल्लेख गरेको छ।
सन् १९९० यता वयस्कहरूमा मोटोपनको समस्या दोब्बरले बढेको र किशोरकिशोरीमा चार गुणाले बढेको छ। सन् २०२४ सम्म ५ वर्षमुनिका ३ करोड ५० लाख बालबालिकामा मोटोपनको समस्या देखिएको छ।
संगठनले सन् २०२१ मा सामान्यभन्दा उच्च बडी मास इन्डेक्स (बीएमआई) का कारण करिब ३७ लाख मानिसको मृत्यु भएको जनाएको छ।
मोटोपना भनेको शरीरमा आवश्यकभन्दा बढी बोसो जम्मा हुने अवस्था हो। बडी मास इन्डेक्स (बीएमआई) ३० वा सो भन्दामाथि भए मोटोपन भन्ने गरिन्छ।
चिकित्सकका अनुसार मोटोपनका कारण हृदय रोग, मधुमेह, उच्च रक्तचाप, स्ट्रोक, मानसिक समस्या लगायतका नसर्ने समस्या देखिने गरेको छ।
मोटोपन उच्च रक्तचापको प्रमुख कारण हो। विश्वभर उच्च रक्तचाप भएका करिब तीन चौथाइ व्यक्तिमा मोटोपनको समस्या रहेको अनुसन्धानहरूले देखाएको छ।
अस्वस्थकर खानपान मोटोपनको प्रमुख कारण हो। शरीरलाई चाहिने भन्दा बढी खाने, जंकफुड, मैदा बढी भएको खाना खाने, व्यायम नगर्ने व्यक्तिको तौल बढी हुने गरेको छ। मोटोपनको समस्या वशांणुगत कारणले पनि हुन्छ। त्यस्तै, बढी तनाव लिने व्यक्तिमा पनि मोटोपनको समस्या देखिने गरेको छ। दीर्घकालीन तनावले शरीरमा कार्टिसोल हर्मोन बढाउँछ। हर्मोनले भोक बढाउँछ, जसले गर्दा मोटोपनको समस्या देखिने गरेको छ।
मोटोपनले शरीरलाई भद्दा र असुहाउँदिलो त बनाउँछ नै, विभिन्न रोगहरूको जोखिम पनि बढाउँछ। बालबालिकादेखि वयस्कसम्मलाई असर गर्ने मोटोपनबाट धेरै व्यक्ति हैरान छन् र छिटोछरितो ढंगले दुब्लाउन चाहन्छन्।

तर, त्यसले पनि जोखिम निम्त्याउने गरेको छ। किनकि दुब्लाउन भन्दै धेरै व्यक्ति खाना नै खान छोड्ने, कार्बोहाइड्रेट कम गर्ने, चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्ने गर्छन्। त्यसले शरीरलाई थप हानि गर्ने गरेको छ। केही व्यक्ति झन् मोटाउने गरेका छन्।
उमेर बढ्दै जाँदा शरीरमा हुने प्राकृतिक परिवर्तनहरूले तौल बढ्ने गरेको छ। ३० वर्ष उमेरमाथिका व्यक्तिमा मांसपेशी घट्ने र मेटाबोलिजम कम हुने कारण शरीरलाई कम क्यालोरी चाहिन्छ। जसकारण कम खाना खाने गर्नुपर्छ।
पोषणविदका अनुसार मोटोपन घटाउन किटो डाइट, थेरापी, औषधि र सप्लिमेन्ट खाने गरिन्छ। तर व्यायाम र सन्तुलित भोजन नगर्दा पनि नदुब्लाउने अथवा झन् मोटाउने समस्या देखिएको छ।
दुब्लाउनका लागि सकेसम्म मैदाबाट बनेका खाना बन्द गर्नुपर्छ। मैदामा फाइबरको मात्रा जिरो हुने र कार्बोहाइड्रेट बढी हुँदा मोटोपन झन् बढ्छ। मैदामा भन्दा आटामा बढी फाइबर हुने हुँदा आटाबाट बनेका खाना कोदो, फापर, जौबाट बनेका खानेकुरा र यसका परिकार प्रयोग गर्नुपर्छ। दिनमा २५ देखि ३० ग्राम फाइबर शरीरलाई आवश्यक पर्छ। भात एक छाक मात्रै खाए पुग्छ। फाइबरयुक्त खाना, तरकारी, फलफूल, पानी प्रशस्त पिउने, दैनिक व्यायाम गर्ने, तनाव कम लिने गर्नाले मोटोपनको समस्या कम गराउन सकिन्छ।
मोटोपन भनेको के हो? दुब्लाउन कस्तो खाना खाने, स्वस्थ जीवनयापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पोषणविद् रुजु खड्काको भिडिओ बिफ्रिङ :

प्रतिक्रिया